दक्षिण एसियाका लागि व्यावहारिक सार्क अपरिहार्य : युवराज संग्रौला

दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) लाई व्यावहारिक बनाउन सकिएमा अन्य क्षेत्रीय सम्पर्कका परियोजनालाई फाइदा पुग्ने एक नेपाली विज्ञले बताएका छन् । 
पाकिस्तान इन्ष्टिच्युट फर पिस स्टडिजले इस्लामाबादमा आयोजना गरेको एक कार्यक्रममा मन्तव्य दिँदै अन्तर्राष्ट्रिय कानूनका ज्ञाता काठमाडौं स्कुल अफ ल का कार्यकारी निर्देशक डा. युवराज संग्रौलाले उक्त विचार व्यक्त गर्नु भएको हो ।
बदलिँदो क्षेत्रीय परिदृश्य तथा दक्षिण एसियाली मुलुकका बीच सहकार्य विषयक छलफल कार्यक्रममा डा. संग्रौलाले चीनसँग दक्षिण एसियाको सम्पर्क बढाउन पनि सार्क बलियो हुनुपर्ने धारणा राख्नुभयो ।
सार्कले खासै काम गर्न नसक्दा चीनले दक्षिण एसियाका प्रत्येक मुलुकसँग छुट्टाछुट्टै डिल गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो । सार्क बलियो भएमा चीनको एक पेटी एक सडक परियोजना र चीन–पाकिस्तान आर्थिक कोरिडोरलाई पनि फाइदा संग्रौलाको विश्लेषण छ ।
‘दक्षिण एसियाका मुलुकहरू चीनसँग नयाँ सम्बन्ध बनाउन लागेका छन् र चीनले ती देशमा लगानी पनि बढाइरहेको छ,’ डा. संग्रौलाले भन्नुभयो, ‘तर पूरै सार्क नै एकजुट भए चीनलाई पनि सजिलो हुन्थ्यो ।’
अहिलेसम्म सार्क एकजुट हुन किन नसकेको भनी उहाँले प्रश्न उठाउनुभयो । यसका लागि दक्षिण एसियाका प्राज्ञिक समुदाय, थिंक ट्यांक र पत्रकारहरूलाई प्रभावकारी भूमिका खेल्न उहाँको सुझाव थियो ।
कार्यक्रममा इनाम उल हक र मुहम्मद अमिर राणा लगायतका वक्ताले चीनबाट लाभ लिनका लागि सार्क एकजुट हुनुको विकल्प नरहेको धारणा राखेका थिए । (द न्युज इन्टरनेसनलबाट)
 
Published Date: कात्तिक २०, २०७४