बाङ्लादेशबाट देखेको नेपाल

दक्षिण एसियाको सानो क्षेत्रफल र ठूलो जनसंख्या भएको देश हो वंगलादेश । नेपालको कुल जनसंख्याको आधा जनसंख्या ढाका शहरमा मात्रै बसेको छ । वाङ्लादेश हुँदै थुप्रै ठूला ठूला नदीहरु बंगालको खाडीमा झर्छन् । बांङ्गलादेशको ठूलो भू–भाग पानीमा डुबेको हुन्छ सधैं । ठट्टै ठट्टामा भन्ने गर्छन वाङ्लादेशी मित्रहरु ‘हिउँदभरी बंगालीहरु छानी छानी माछा खान्छन् अनी वर्षाभरी माछाहरु छानी छानी बंगाली खान्छन् ।’ बाढी मात्रै होइन, साइक्लोन, टाइफुन र विस्तारै विस्तारै बढ्दो मरुभूमिकरणले जमिनको उर्वर माटो बगेर समुद्रमा जाँदैछ र उत्पादनमा कमी आइरहेको छ । बढ्दो जनसंख्याले गर्दा जंगल फडानी भईरहेको छ । मानव बेचबिखनको जघन्य समस्या वाङ्लादेशमा छ । रातभरि दिनभरी काम गरेर पनि मानिसहरु खान पाउँदैनन् । नेपालजत्रै भूभागमा सत्र करोड जनसंख्या बाँचेको छ बाङ्लादेशमा । 
 
ढाका अहिले आकाशे पुल बनाउन व्यस्त छ । जताततै लामालामा आकाशे पुलहरु निर्माण भइरहेका छन् । राम्रा राम्रा पार्कहरु बनिरहेका छन् ढाकामा । ठूला ठूला होटलहरु थपिएका छन् । बंगालादेशको विकासदर बढिरहेको छ । वाङ्लादेशले देशका कुना कुनामा उद्योगहरु पु¥याएको छ । दुरदराजका गाउँहरुमा गार्मेन्ट कारखानाहरु बनेका छन् । जुट र कपासको खेती बढिरहेको छ । करोडौं फूल निर्यात गर्छ वाङ्लादेश भारत र वर्मातिर । सडकहरु चौडा बनिरहेका छन् । वाङ्लादेशको औद्योगिकिकरण र आर्थिक विकासदर तुलनात्मक रुपमा भारतको भन्दा बढि छ । तर देखिदैन किनभने उसको आकार यति सानो छ उसँग भएको जनसंख्यालाई धान्न जति कमाए पनि पुग्दैन । कल्पना गरौं उसको मेहनत र हाम्रो जनसंख्या भएको भए ‘वाङ्लादेश’ कस्तो हुने थियो होला ? हामीसँग भएको के छैन वाङ्लादेशसँग ? वाङ्लादेशसँग नेपालको जस्तो प्राकृतिक स्रोत छैन । जंगल छैन । बालुवा छैन । ढुंगा छैन । बाटो बनाउन जमीनको माटो झिकेर ईंटा बनाई टुक्रा बनाउनु पर्छ । गिटीको ठाउँमा इटाका टुक्रा बनाउनु पर्छ । खानेपनी छैन । जमिन मुनिबाट निकाले पानीमा आर्सेनिक तत्व छ । सिमेन्ट बनाउने चुनाढुंगा छैन । अर्थात नेपालको तुलनामा वाङ्लादेश गरीव छ प्राकृति स्रोतमा । तर पनि उ संघर्ष गरिरहेको छ । 
 
वाङ्लादेशसँग भएको के कुरा नेपालमा छैन ? बंगालीहरु श्रमलाई माया गर्दछन् । उनीहरु श्रम गर्न लाज मान्दैनन् । देश विकासका लागि चाहिने दक्ष र अर्धदक्ष जनशक्ति प्रचुर छ वंगलादेशमा । बाटो बनाउने कुल्ली देखि दक्ष प्राविधिक सबै बंगलादेशकै नागरिक छन् । वंगलादेशमा विदेशीहरु छैनन् स–साना प्राविधिक र सेवामूलक काम गर्ने । किनकी उनीहरु कामलाई हेला गर्दैनन् । तर कामलाई हेला गर्छन् मानिसहरु नेपालमा । नेपालमा पढ्न पनि नचाहने र काम गर्न पनि नचाहनेको संख्या ठूलो छ । नेपालीहरु भेडाबाख्रा हेर्न समेत जान्छन् अरब । त्यहाँ शौचालय सफा गर्न लाज हुँदैन उनीहरुलाई, तर नेपालमा लाज लाग्छ काम गर्न । नेपालमा काम नगर्ने ‘एक क्वीन्टल तौल भएकी छोरीलाई बाबुआमाले   भाग्यमानी भन्छन् ।’ काम गर्नु परेन भने भाग्यमानी हुन्छ र काम गर्नेलाई अभागी भनिन्छ नेपालमा । नजिकैका यी दुई देशमा श्रम प्रतिको दृष्टिकोणमा ठूलो अन्तर छ । बंगालीहरु काम गर्छन नेपालीहरु कुरा काट्छन् । बंगालीहरु आफ्नो राष्ट्रप्रति भावनात्मक प्रेम गर्छन्, नेपालीहरु देश छोडर भाग्छन् । 
के समानता छ नेपाल र वाङ्लादेशमा ? दुवै देशमा भ्रष्टाचार क्यान्सर जस्तै भएको छ । दुवै देशका नेताहरु जनताप्रति उत्तरदायी छैनन् । दुवै देशका नेतालाई कानुन मान्नुपर्ने दायित्व छैन । दुवै देशमा नेताहरु महंगा पोजेरो र प्राडो चढ्ने गर्छन् । सेना र प्रहरीको ताँती लगाएर हिड्छन् । उद्घाटन र सिलान्यास गर्न खुशी हुन्छन् । टेलिभिजनमा अनुहार देखिनुलाई मन्त्री हुनुको विशेषता मानिन्छ । दुवै देशमा मन्त्री हुन योग्यता र विशेषज्ञता होइन, ढाँट्न, ठग्न, लुट्न र बाहुबल प्रयोग गर्न सक्ने गुण्डा प्रवृत्ति चाहिन्छ । यी सबै समानता र असमानताका बिचमा अर्को एउटा समानता छ ‘त्यो हो दुवै देशका जनता’ उनीहरुका नेताहरुबाट शोषित र पीडित छन् । 
 
नेपाल राजनीतिक स्थिरताका लागि तड्पिरहेको छ । विचार, दर्शन र आदर्शतालाई त्यागिसकेका नेपाली नेताहरु राजनीतिक अस्थिरताका कारण बनेका छन् नेपालमा । वंगलादेश प्राकृतिक प्रकोपबाट पीडित छ र नेताहरु भ्रष्टाचारको आहालमा डुबेका छन् । र, कानूनलाई विरालाले मुसा खेलाए जस्तै खेलाई रहेका छन् । 
 
भरर्खरैमात्र वाङ्लादेशको राष्ट्रिय मानव अधिकार आयोगले ‘युनिभर्सल पिरियोडिक रिपोर्ट’ को छलफल गर्ने क्रममा एउटा कार्यक्रम ग¥यो । गाउँघरबाट जनताका प्रतिनिधिहरु आएका थिए । उनीहरु भनिरहेका थिए– कसरी वाङ्लादेशको ग्याँस बहुराष्ट्रिय कम्पनीको हातमा जानबाट जोगाउने हो ? कसरी वातावरणलाई जोगाउने हो ? कसरी भ्रष्टाचारलाई रोक्ने हो ? कसरी निर्वाचनलाई स्वच्छ बनाउने हो ? कसरी सन् १९७२ को क्रान्तिलाई धोका दिनेहरुलाई सजाय दिने हो ? 
 
कार्यक्रममा एकजना अर्धवैंसे महिला प्रतिनिधिले भनिन् । ‘जबसम्म नागरिकहरुको आर्थिक स्तर बढ्दैन, उसमा सामाजिक परिवर्तन हुन सक्तैन । जबसम्म मानिसमा सामाजिक चेतनाको विकास हुँदैन, उसले विकास र परिवर्तनको भार बोक्न सक्तैन । जबसम्म मानिसको आर्थिक र सामाजिक रुपान्तरणको प्रक्रिया अवरुद्ध भइरहन्छ, नत लोकतनत्रको कुनै अर्थ रहन्छ नत स्वतन्त्रताको । आर्थिक र सामाजिक विकासविहिन समाजमा लोकतनत्रलाई अपराधीहरु, भ्रष्टाचारीहरु र निरंकुश राजनीतिक महत्वाकांक्षा भएका मानिसले अन्धी बालिकालाई अपराधीले बलात्कार गरेझैं विना डर बलात्कार गरिरहन्छन् । जबसम्म यस्तो नाममात्रको लोकतन्त्र रहिरहन्छ राष्ट्रका स्रोतहरु गवाराले केरोको गुभो खाए जसरी खाइरहन्छन् । हाम्रो समस्या हामीले भोगीरहेको शासनको ढाँचा हो । हामी वंगाली, चक्मा, गारो, सन्थाल, उत्तरी वाङ्लादेश, दक्षिणी वाङ्लादेश समतलका बंगाली र पहाडका वंगाली भनेर बाँडिएका छौं । जबसम्म हामी यसरी बाडिन्छौ, हाम्रो शोषित हुने नियति कायम रहिरहन्छ । हामी फरक फरक जातका मानिस छौं । हामी बंगाली जात, चक्मा जात, गारो जात, सन्थाल जात, हिन्दू, मुस्लिम, वुद्धिष्ट  र क्रिस्चियन धर्म मान्नेहरु छौं ।   तर हामी सबै वाङ्लादेशी नागरिक हौ । अर्थात, हिन्दू वाङ्लादेशी, चक्मा वंगलादेशी, गारो र सन्थाल वाङ्लादेशी । हाम्रो राष्ट्रियता पहिचान १९७२ को क्रान्तिले निर्माण गरेको वाङ्लादेशी राष्ट्रियता हो ।’
 
अन्तमा उनले भनिन् – ‘राष्ट्रको पर्यावरण, विकास, आर्थिक, सामाजिक रुपान्तरण र समृद्ध वंगलादेशको निर्माण गर्न पसिना बगाइरहेका मानिस हामी नै हौं । समाजमा चेतनाको निर्माण गर्न क्रियाशील रहेका मानिस पनि हामी नै हौ । गाउँ गाउँमा सहकारी खोलेर देशको अर्थतन्त्रको निर्माण गर्ने पनि हामी नै हौं । यदि हामीसँग राष्ट्र निर्माण गर्ने ताकत छ भने किन असक्षम, अयोग्य, भ्रष्ट र अपराधमा डुबेका मानिसहरुलाई काँधमा हालेर हिडिरहने ? किन हामीले अब राष्ट्रको जिम्मा आफ्नो हातमा लिने आँट नगर्ने ? उनले पत्रकारहरु र टिभी क्रुलाई हेर्दै भनिन ‘भ्रष्ट व्यापारीले विज्ञापन नदेला भनेर खोलामा रसायनिक पदार्थ फ्याँक्ने कारखानाको खबर लेख्न नछोड्नुहोस् । मन्त्रीका भाषण होइन विद्वानका विचारहरु छापिदिनुहोस् । कलिला केटीका छातीहरु देखाउन बन्द गरेर गाउँमा तरकारी रोपेर श्रम गरिरहेकी बालिकाको पसिनाले भरिएको अनुहार छापिदिनुहोस् ।’
 
अन्तमा उनले ‘डायसमा बसेका ठूला ठूला बालिकालाई इंगित गर्दै भनिन् । माननीय ऐनजीवी (वकिल) वोर्गो ! तपाईहरु भ्रष्टाचारमा डुबेका नेताहरुका मुद्दा हेर्न बन्द गर्नुहोस । तब मात्र बन्छ बस्न लायकको वाङ्लादेश ।’ सेलहटकी ति महिला चियावगानी कामदार थिइन् । वंगलादेशमा भ्रष्टाचार र विपति छ । राजनीति अस्थिरता पनि छ । तर ति महिलाका कुरा र तिनका कुरालाई उठेर ताली पिट्ने नागरिक समाज देखेपछि लाग्यो अन्ततः वाङ्लादेशको भविष्य अन्धकार छैन । तर मेरो आफ्नै देशमा ‘मानिसहरु खुट्टातान्ने संस्कृतिमा डुबेका छन्, विदेश भाग्ने नशाले मातेका छन्, निरासाको भारी बोकेर गनगाइरहेका छन् । युवाहरुलाई लुट्न सिकाइन्छ यहाँ । त्यसैले लाग्यो सानो जनसंख्या र धेरै प्राकृतिक स्रोत भएपनि मेरो देशको भविष्य खतरामूक्त छैन । शायद अब राष्ट्रियता, सकारात्मक मनोविज्ञान र सांस्कृतिक क्रान्तिको थालनी गर्ने बेला भइसकेको छ । यसपालि वाङ्लादेशमा मैले एक श्रमिक महिलाबाट राष्ट्रप्रतिको सोच कस्तो हुनुपर्छ भन्ने सिक्न पाए । सलाम छ ति महिला श्रमिकलाई ।