केही वर्ष अगाडि कतारबाट म्युनिखका लागि उडिरहेको थिए । मेरो छेउको सिटमा एकजना गोरा थिए । उनले अंग्रेजीको उच्चारणबाट लाग्यो उनी व्रिटिश वा अमेरिकन होइनन् । उनी असाधारण मोटा थिए । उनको कम्मर मुनीको मासुको थलथलले ठेलेर मलाई चटपटाउन पनि कठिन भइरहेको थियो । म झ्यालबाट तल जमिनमा हेरिरहेको थिएँ । जताततै मरुभूमि थियो, तर ठाउँ ठाउँमा आगोको ज्वालाहरु । तेल खानीहरुबाट तेल झिकिरहेका दृश्यहरु थिए ती ।
उनले कुरा शुरु गरे र हाम्रो गफ शुरुभयो । अनि ‘मिनियचर’ बोटलबाट ठाडै रक्सी पिउँथे र उनीसँग एक झोला ससाना रक्सीका बोतलहरु थिए । उनी प्लेनमा उड्न डराउँदा रहेछन् । ओस्कार अवार्ड जितेका एक जर्मन फिल्म निर्देशक रहेछन् उनी । मैले ‘नेपाली’ भनेपछि उनि मसँग नजिक भए खेलेर कुरा गर्न थाले । नेपाल पुग्नु भएको छ ? मेरो एक यस प्रश्नमा उनले उत्तर दिए । ‘एकपटक !’ म अभागी मानिस हुँ । मेरो मोटो शरीर पहाडमा हिड्न सक्तैन । शायद ‘स्वर्ग भनेको नेपाल नै हो’ ।
‘तर हामी गरीव छौं । मेरा देशका जनताले अघाउन्जेल भात पनि खान पाउँदैनन् ।’ उनले तत्कालै भने त्यो तल मरुभूमिमा केही छ ? त्यहाँ तेल छ केवल । त्यो पनि एक दिन सकिने छ । यहाँका मानिसले तेल बेचेर जीवनलाई चाहिने सबै कुरा किन्नुपर्छ । तर तिम्रो देश हरियालीले भरिएको छ । उत्तरमा अमृतजस्तो पानीका मुहान हिमालहरु छन् । पानीमात्रै पिएर महिनौं बाँच्न सकिन्छ । सबै जडिबुटी, फलफूल तिम्रै देशमा छन् । आधा घण्टा आकाशमा उड्दा जीरो डिग्रीको चिसो र ३५ डिग्रीको तातो फेलापर्छ । प्रकृतिले नेपाललाई एउटा उद्यान बनाएको छ । मेरो शरीरले अनुभूति दिए म त्यहाँ फिल्म खिचेर हरेक साल ओस्कर जित्ने थिए । प्रकृतिले तिमीहरुलई सबैथोक दिएको छ, त्यसैले अरबमा भएको तेल पनि दिएको छैन किनभने त्यो पनि दियो भने युरोप र गल्फमा बस्ने हामीहरुमाथि अन्याय हुन्छ ।
कृष्णप्रसाद भट्टराई पहिलो पटक प्रधानमन्त्री हुँदा सिंगापुर पुग्नु भएछ, शायद जापानबाट फर्किदा । सिंगापुरमा बस्दा बेलुकी त्यहाँका नेपालीहरुले रात्रीभोज राखेको रहेछन् । भरर्खरै प्रधानमन्त्रीको पछ छोडी मन्त्रीको पदमा कार्यरत रहेका लि क्वान यु पनि रात्रीभोजका पहुँना रहेछन् । भट्टराईजीलाई लि ले भने अरे ‘बुढेसकालमा’ नेपाल जस्तो देशमा बसेर आराम गर्ने चाहना छ ।
नेपाल अभूतपूर्व धनी देश हो । यसका भौगोलिक र सांस्कृतिक विविधकता यसका गौरवका चरित्र हुन् । यस भूमिलाई नेपाल भनिन्छ । नेपाल शब्दले ‘कुनै जात, धर्म, संस्कृति सम्प्रदाय जनाउँदैन ।’ यो शब्द आफैंमा धर्म, जात र संस्कृति निरेपक्ष छ । त्यसैले कोही पहाडे नेपाली छ कोही मधेशी नेपाली छ । कोही हिन्दु नेपाली छ कोही बौद्ध नेपाली र अन्य नेपाली । कोही बाहुन, क्षेत्री, नेवार, किराँत, मगर र गुरुङ नेपाली । सयौं विविधता छ तर सबै नेपाली । पहिला एक ‘नेपाली’ अनि विविध । हाम्रो यो ऐतिहासिक तथ्यलाई केही मासिनले भत्काउन खोज्दैछन् ।
राजनीति, कानुन र अन्य मुल्यमान्यताहरु स्थायी होइनन् । यी परिवर्तनशील प्रक्रिया मात्र हुन् । कुनै खास समयमा उपयुक्त ठानिएको राजनीति र कानुन अर्को समयमा काम लाग्ने हुँदैन । हिजो जयस्थिति मल्लले ‘मानव न्यायशास्त्र’ बनाए र पहिलो पटक कानुनमा जात र जातको उचता निचताको घोषणा गरे । उनको यो ‘मानव न्यायशास्त्र’ वनारसबाट ल्याइएका चारजना ‘झा र मिश्र’ पण्डितहरुले बनाएकमा थिए । यसरी पहिलोपटक नेपाल उत्तर भारतमा मौलाएको रुढीवादी हिन्दू वर्णधर्मको उपनिवेश भयो । पहाडका बाहुन र क्षेत्री र काठमाडौंका नेवार पनि यस संस्कृतिका दास भए । १८५४ (वि.सं.) मा जंगबहादुरले मुलुकी ऐन बनाए । मतवाली र ताघाधारी, पानी चल्ने मतवाली र पानी नचल्ने मतवालीमा नेपाललाई विभाजित गरे । यो मुलुकी ऐन बनाउने मानिस पनि बनारसका झाहरु र मिश्रहरु नै थिए । देशको पहाड खण्डमा वैश्य भन्ने जात छैन । दलितहरुलाई शुद्र भन्ने गरिएको पनि छैन । तर विदेशीहरुले लेखेका समाजशास्त्रका कितावमा ‘पहाडका जनजाती’ संस्कृताइजेसनको शिकार भए भनी लेखिएको पाइन्छ । त्रिभूवन विश्वविद्यालयमा पनि समाजशास्त्रमा यहि पाइन्छ । हो ‘संस्कृताइजेशन’ भयो तर को बाट ? समस्याको चुरो कुरो हाम्रो सामाजिक व्यवस्था हिन्दू वैद्धान्तिक दर्शनका रुढीवादी मान्यताबाट प्रभावित भयो त्यसका शिकार बाहुन, क्षेत्री, जनजाती, दलित सबै भए । यो रुढीवादी दर्शनको प्रभाव झन् धेरै मधेशमा प¥यो । मधेशमा दलतमाथि हुने व्यवहारलाई हेर्दा प्रष्ट हुने नै छ । रुढीवाद, अन्धविश्वास, अरुका पीडालाई आफ्नो पीडा नदेख्ने र मूखले ठूलाठूला गीत गाए पनि व्यक्तिगत स्वार्थका लागि चटक्कै देश छोड्ने प्रवृत्ति हाम्रा संस्कृति आएका छन् । यति राम्रो देश हामी नेपालीका गलत प्रवृत्तिको शिकार भएको छ । यो जर्जर ‘संस्कृति’ विरुद्धको लडाई देशको सबैभन्दा ठूलो समस्या हो । यस संस्कृतिले जहिले पनि विज्ञान, चेतना र बौद्धिकतामाथि प्रहार गर्छ । त्यसकारण संविधानको निर्माणमा देशको विश्वविद्यालयहरुको कुनै भूमिका रहेन । संविधानको निर्माणमा खट्नुपर्ने वकिलहरुले जुलुस निकाल्नु प¥यो । देशका समाजशास्त्री, इतिहासविद्हरुलाई राजनीतिले कहिल्यै खोजेन । देशका योजनाविद्, अर्थशास्त्री र भुगोलविद्हरुलाई राजनीतिले कहिल्यै खोजेन । बरु विदेशीहरुलाई राजनीतिक दलका नेताहरुल्े सलाम गरे ।
सबै सोध्छन् अहिले ‘वर्तमान’ अवस्थाको निकास के हो ? मैले बुझेको ‘निकास’ हाम्रो प्रवृत्तिमा परिवर्तन हो । हाम्रो देश बनाउन हामी सक्छौ भन्ने अठोट निर्माण निकासको पहिलो कदम हो । देश र राष्ट्रियता पहिलो पूर्वशर्त हो त्यसपछि अरु कुरा हुन् भन्ने मनोविज्ञानको निर्माण निकासको दोस्रो कदम हो । राष्ट्रका सबै इमान्दार बौद्धिकहरु, व्यवसायीहरु र वैज्ञानिकहरुले समाजको रुग्ण संस्कृतिको परिवर्तनद्वारा समाजमा उत्पीडतमा परेका, सीमान्तकृत अवस्थामा पु¥याइएका र भेदभावका शिकार भएका गरीव मानिसहरुलाई विकासको पहिलो खुड्किलोमा ल्याउने अभियोजनको सुरुवात निकासको तेस्रो कदम हो । राष्ट्रप्रतिको कर्तव्य र पछाडि पारिएकाको विकासको प्रथामिकता निर्धारण निकासको चौथो कदम हो । यी सबै सत्यहरुलाई स्वकार गरिएपछि मात्र निर्वाचनका कुरा उठाउनुको तात्पर्य होला । त्यसैले अब निर्वाचन कि संधिवान सभाको पुनरावृत्ति होइन, नेपालको सुरक्षा, नेपालीको अस्तित्व, नेपाली राष्ट्रिय मनोविज्ञान र नेपाली समाजका सद्भावका आधारहरु के हुन भनी पहिचान गर्न केन्द्रित हुनुपर्छ । त्यसले मात्र देशको स्वाधिनता र नेपाली राष्ट्रको इतिहासको संरक्षण गर्नेछ ।