संविधानसभाको निर्वाचन समापन भएको छ । यस निर्वाचनले नेपाली राष्ट्रको भविष्य सुनिश्चितताका लागि भएका कतिपय ‘थोरै राष्ट्रिय घटनाहरु मध्ये एक घटनाको रुपमा आफूलाई स्थापित गर्न सकेको छ’ । २०३७ सालको जनमत संग्रह र त्यस पूर्वका विद्यार्थी आन्दोलन देखि २०४६÷४७ सालको निरंकुश राजतन्त्र एवं ‘दर्शन र सिद्धान्तहीन’ पञ्चायती व्यवस्था विरुद्धका आन्दोलनहरुले नेपाली जनतामा लोकतन्त्र प्रति अविचल आस्थाको निर्माण भइसकेको छ, र २०४६ सालको आन्दोलन पछि तत्कालीन ने.क.पा. (माले), माक्र्सवादी समेतको एकीकरणबाट बनेको नेकपा (एमाले) को बहुदलीय व्यवस्थाप्रतिको प्रतिबद्धता र त्यसमा उसको निशंकोच संलग्नताले नेपालको लोकतान्त्रिक पद्धतिको एउटा खम्बा बामपन्थी शक्ति हो भन्ने कुरालाई आम जनताले सामाजिक मनोविज्ञानको रुपमा स्थापित गरिसकेका छन् । तसर्थ अब जुनसुकै राजनीतिक दलले जुनसुकै राजनीतिक विचारधारा ग्रहण गरेपनि उसले गर्ने ‘राजनीति’को मूल प्रवाह बुहदलीय लोकतान्त्रिक व्यवस्था मात्रै हो । एकदलीय व्यवस्थाको स्थापना गर्ने क्रान्तिको ‘औचित्यतता’ समाप्त भइसकेको कुरा तत्कालीन नेकपा (माओवादी)को हतियार र विसर्जन सँगै संविधान सभाको निर्वाचन र संविधानको निर्माण गर्ने सहमतिद्वारा स्थापित भइसकेको छ ।
अघिल्लो संविधानसभाको गठन एउटा नेपालको इतिहासमा एउटा अभूतपूर्व घटना थियो । देशका कतिपय वौद्धिकहरु अहिले पनि त्यसलाई असफल निकम्मा भनेर सराप्ने गर्छन् । तर वस्तुगत दृष्टिकोणबाट घटनाहरुको विश्लेषण गर्ने हो भने त्यो संधिवान सभाले नेपाली राज्यको विकसामा खेलेको भूमिका अहिले सम्मका अन्य राजनीतिक घटनाहरुले खेलेको भूमिका भन्दा कम छैन ।
पहिलो कुरा त ‘त्यो संधिवान सभा संसदवादी लोकतान्त्रिक विचारधारा बोकेका राजनीतिक शक्तिहरु र जो ‘व्यालेटबाट सत्तामा अवतरण हुन्छन्’, र सशस्त्र क्रान्तिको द्वन्द्वमा संलग्न राजनीतिक पार्टी जो बुलेटद्वारा सत्तामा अवतरण गर्न चाहन्थ्यो, का बीचको ‘राजनीतिक तरलमन्च’ थियो जहाँ उनीहरु आपना विचारधाराका लागि संघर्ष पनि गर्थे तर एक अर्काको अस्तित्व अनिवार्य भएको महसुस गर्न बाध्य पनि हुन्थे । ‘जुन मिश्रण (डाइलुसन) त्यहाँ निर्माण भयो त्यसले नेपालको इतिहासमा राजनीतिको एउटा नयाँ रुप प्राप्त ग¥यो, र त्यो नै भविष्यमा समाजलाई द्वन्द्वबाट मुक्ति दिने आधार थियो । इतिहासको यस दृश्यहीन धारालाई बुझ्ने प्रयास भने भएन । लियो टोल्सटायले ‘युद्ध र शान्ति’ को निष्कर्षमा लेखेका छन्ः– “धेरै मानिसले इतिहासलाई केवल कथाको रुपमा प्रस्तुत गर्छन्, तर इतिहासको निर्माण घटनाहरुले गर्छन् र ति घटनाहरुका पछाडि कारणहरु हुन्छन् । जो निश्चित सिद्धान्तहरुद्वारा निर्देशित रहेका हुन्छन् । र, ति घटनाहरुद्वारा लेखिएको इतिहासले भविष्यको बाटो निर्धारण गरिरहेका हुन्छन् ।”
टोल्सटायले भनेजस्तै आजको यो अवस्थाको निर्धारण जनताले मंसिर ४ गतेको निर्वाचनबाट गरेको होइनन, जनताको यो निर्णयलाई अघिल्लो संविधानसँग जोडिएको इतिहासले गरेकोछ, वा त्यस इतिहासका अन्तरनिहित घटनाहरुले निर्धारण गरेको छ । त्यसैले भन्ने गरिन्छ इतिहासले ‘वर्तमान र भविष्यलाई’ निर्दयितापूर्वक प्रभावित गर्छ । कसैको हार तथा जीत ‘व्यालेट’ ले होइन ति ‘व्यालेट’ लाई प्रयोग गर्ने जनताको अन्तरनिहित विवेकबाट भएको छ र जनताको त्यो विवेक संविधानसभाको इतिहासबाट निर्धारित रहेको छ ।
अतः विगतको संविधानसभाको महत्वलाई बुझ्न नसक्दा यसका असफलता देखिन्छन् । तर ‘रुप’ मा नै हेर्ने हो भनेपनि त्यसले युगौंदेखि दैवीशक्तिको दावी गर्ने राजतन्त्रलाई उन्मुलन ग¥यो, द्वन्द्वमा हतियार चलाउने सैनिकलाई व्यारेकमा राख्यो । जनतालाई पुन जीवनको सपना देख्न सिकायो र हिजो लोकतन्त्रको उपहास गर्ने राजनीतक दलहरुलाई निर्दयतापूर्वक दण्डित ग¥यो । उनीहरुलाई अस्तित्वको संकटको सामना गर्न बाध्य बनाये । र, उनीहरुले रोकेर राखेको परिवर्तनलको साँग्लो चुँडाइदियो । परिणामस्वरुप जनता युगौंदेखिको वहिष्करण्, दमन, भेदभावको विरुद्धमा सुशासनको आवाज लिएर सडकमा आए । उनीहरुले लैङ्गिक समानताको आवाज उठाए । संघियताको आवाज उठाए र राज्यको संरचनामा आमूल परिवर्तनको आवाज उठाए ।
इतिहासबाट दण्डित ‘एमाले र कांग्रेसले’ परिवर्तनको आवाज आत्मसात गर्न इन्कार गरेनन् । उनीहरु जनताको चाहनाको कदर गर्दै गणतन्त्रको पक्षमा उभिए, संघीयताको पक्षमा उभिए, र राज्यको पुर्नसंरचनामा सरिक भए । तर एनेकपा (माओवादी) लोकतन्त्रको संस्थापनमा सहमतिको नाममा ‘ओल्लो र पल्लो धुर’ को राजनीति ग¥यो । उ अरुका पार्टीमा समस्या रोप्ने खेलमा लाग्यो । उसले हिजो जनतालाई भारत विस्तारवादी शक्ति हो भनेर सिकायो तर जब सत्तामा आयो उसले ‘विपा सम्झौता’ ग¥यो, विमानस्थलहरुको व्यवस्थापन भारतीयको निजी कम्पनीलाई दिने निर्णय ग¥यो । यी निर्णयद्वारा उसले आफ्नो पार्टीभित्र फुटको अवस्था ल्यायो । हिजो उसकै कार्यकर्ताको हत्या गर्ने र उसकै समूल नास हुनुपर्ने माग राख्ने कतिपय भ्रष्ट पार्टी नेताहरुसँग तालमेल ग¥यो र सरकारलाई इतहिासमा सबैभन्दा भ्रष्ट सरकार बनायो । काठमाडौंका जनताको पानी र बत्तिको सरोकार उसलाई भएन, तर जेष्ठ र असारमा उ जनताको घर भत्काउँदै सडकमा डोजर चलाउन थाल्यो । विकासको योजना कानुनी शासनको दायरा बाहिर संचालन हुन सक्तैनन् भन्ने उसले बुझ्ने र सत्ताका लागि जस्तोसुकै निर्णय गर्ने मधेशवादी पार्टीका नेताको संगत उसलाई महंगो भयो । अपराधीका मुद्दा फिर्ता लिन उसले गरेको निर्णय र उसले नियुक्त गरेका महान्यायाधिवक्ताका करतुत पनि महंगो भयो ।
अनि अर्को ध्रुवमा पुगेर राजनितिक लाभका अगाडि उसले ‘जातिय राज्य’ को नारालाई यति धेरै उचाल्यो जसको नतः परिभाषा थियो नत कुनै विशेषता । नेपाली जनताले युगौ देखिको इतिहासमा आधारित एकतामा आँच पुग्ने डर यसमा देखे । यसकै आधारमा उसले अरु दलहरु फुटाउने खेलखेल्यो । ति दलहरुको अस्मितामा प्रश्नहरु उठ्यो । संविधान सभाको विगठनमा अरुलाई जतिसुकै आरोप लगाए पनि “मधेशी मोर्चा र माओवादीलाई” दुइतिहाई मत प्राप्त गर्न संविधानसभाको अर्को निर्वाचन गर्नुपर्ने अवस्था आएको तत्कालिन प्रधानमन्त्रीको राष्ट्रको नामको सम्बोधनले आम जनताको मनमा ‘एउटा सम्भावित निंरकुशता’ र त्यसका प्राप्तिका लागि नेपालमा एकलौटी विदेशी हस्तक्षेप लाई अनुमति दिइएका घटनाहरुले जनतामा अव्यक्त र गहिरो ‘नकारात्मक मनोविज्ञान’ को उत्पति भयो । अर्थात एकलौटी जीतको सपनाले एनेकपा (माओवादी) मा विवेकमूलक निर्णय गनुपर्ने राजनितिक संस्कारको विकासमा अवरोध पु¥यायो । तर पनि उसले परिवर्तनका लागि खेलेको ठूलो भूमिकालाई विर्सन कसैले सक्तैन । आजको नेपालको यस बाटोको निर्माणमा उसको योगदान ठूलो छ ।
यो निर्वाचनका केहि प्रवृतिहरु छन । नयां अनुहारलाई जनताले मत हालेका छन् । विपक्षी दलका नेताहरु प्रति जनताले दया देखाएका छन् । नेताहरुलाई विभाजित गर्ने जवान नेताहरुलाई जनताले हराएका छन् । राज्य व्यवसथामा रहँदा खासै भूमिका खेल्न नसकेका नेतालाई जनताले भोट दिएनन् । पढे लेखेका कार्यकर्तालाई माया गरेका छन् । जात र क्षेत्रको कुरा गर्नेलाई तहसनहस पारेका छन् । विदेशी दाममा पार्टी खोलेर समानुपातिक भोट बटुलेर विदेशी धर्म र संस्कृतिको प्रचार गर्नेहरुलाई पनि जनताले त्योगका छन् यो प्रवृति देशव्यापी छ । त्यसैले राष्ट्रिय प्रवृत्तिको छर्लङ्ग चित्र प्रस्तुत गर्ने मतको प्रयोग भएको देखिँदा यसमा धाँदली भयो भन्ने कुराको कुनै तुक छैन । बमका आतंकले पनि नछेकेका मानिसको मत कहाँ जान्छ भन्ने एमाओवादीले अनुमान गर्न नै सकेन । हरेक जनता एकला एकलै डराएका थिए । तर उनीहरुले गोप्य मतदान गर्दा, अहिले देखिन्छ देशभरिका जनतामा एउटै मनोविज्ञान थियो “बहुदलीय व्यवस्था नै देशको राजनीतिक आधार हो र यसका अनुयायीलाई नै मतदान गर्नुपर्छ।”
यहि विन्दुबाट नेपाली परिवर्तन र संक्रमण फ्रेन्च अनुभवसँग भिन्न हुन्छ । फ्रेन्च सत्ता रोवसपियरले हातमा पारे र विरोधीको कत्लेआम गर्न थाले । परिणाम जनताले उनलाई सिध्याए र नेपोलियनको उदय भयो । यदि नेपालमा निर्वाचन नहुँदो हो त नेपालले फ्रेन्चक्रान्तिको बाटो समात्ने थियो । हिजो नागरिक समाजले यसलाई बुझने । एकलौटी गाली ग¥यो राजनीतिक दल र सरकारलाई । तर जनताले त्यति धेरै ठुलो संख्यामा सहभागी भएर नागरिक समाजको कल्पनालाई पनि झुठो प्रमाणित गरिदिए । निर्वाचन भयो र लोकतान्त्रिक शक्तिलाई जनताले शान्ति र संविधान निर्माणको नेतृत्व गर्ने अवसर दिए । अब नेपाल ‘नेपोलियन’ जन्माउने बाटोबाट अर्कोतर्फ लाग्यो । यस ऐतिहासिक महत्व र घटनालाई बुझ्न सके एनेकपा (माओवादी)ले भने अब नेपाल एउटा समृद्ध राष्ट्रको रुपमा उभिनेछ । अतः तीनवटा राजनीतिक दलले सहमतिबाट संविधान बनाउने र सरकार चलाउने सहकार्य गर्नुपर्छ । ठूलो र सानो होइन विचारधाराको समानतामा उभिएर एक अर्कालाई समान व्यवहार गर्न जान्नु भयो भने लोकतन्त्रको विकासमा भविष्यले तपाईहरुको नाम लिनेछ ।