नेपाली नेतालाई पाठ

नेपाली राजनीतिको आकाशमा प्रकाश देख्न थालिएको छ। भारत र नेपालबीच सम्बन्धको व्यवस्थापन 'एजेन्ट' हरुद्वारा होइन, राजनीतिक नेताहरुबाट भइदिएको भए नेपाललेआजको आर्थिक विकासको दुर्दशा भोग्नुपर्ने थिएन। तर केही कारण थिए जसले नेपाली राजनीतिको आकासलाई लामो समयसम्म तुँहालोले छोप्यो।

दश वर्षे 'जनयुद्ध'ताका नेपालमा भर्खरै विकास हुन थालेको लोकतान्त्रिक पद्धति, प्रशासनिक, न्यायिक एवं वित्तीय प्रणालीहरु ध्वस्त हुन पुगे। यद्यपि २०६३ सालको जनआन्दोलन र त्यसले स्थापित गरेको संविधान सभाद्वारा देशले दिगो शान्ति र सामाजिक आर्थिक विकासको बाटो निर्धारण गर्नेछ भन्ने ठानिएको थियो। परिवर्तन आह्वान गर्ने तत्कालीन माओवादी पार्टीप्रति जनताले निकै ठूलो अपेक्षा राखेका थिए तर माओवादी पार्टीले व्यक्तिगत स्वार्थको आहालमा डुबेर आफूले आफैँलाई ध्वस्त गर्योख। अर्थात् परम्परागत एवं आशा गरिएका विकासका संयन्त्र सबै निरर्थक प्रमाणित भए।
नेपाललाई अस्थिर एवं विशृंखल बनाउन त्यस समयमा अनेकौं खेल भए। नानाथरीका स्वार्थ भएका विदेशी संस्था र व्यक्तिले नेपालमा षड्यन्त्रका ताण्डव खेले। यस्तो समय पनि आयो– देशको अस्तित्व धर्मरायो। संविधान सभा विदेशी यात्रा र होटलमा भोजन गर्ने माध्यम बन्यो। विदेशी संस्थाका लागि राष्ट्रविरुद्ध काम गर्नेहरु देशभित्रै मौलाए। नेताहरु भारतीय गुप्तचर संस्था 'र' को सल्लाहमा काम गर्न थाले। उनीहरुले कहिल्यै बुझेनन् 'नेपाल र भारतको स्वार्थ एकअर्काको अस्तित्वसँग गाँसिएको छ। त्यसैले उनीहरुको सम्बन्ध राजनीतिक तहमा निरन्तर, भरपर्दो र भरोसायुक्त हुनुपर्छ।' जब जब भारत र नेपालबीच राजनीतिक सम्वाद कमजोर भयो, नेपालले कठिनाई भोग्नुपर्यो । यस ऐतिहासिक यथार्थतालाई नेपाली राजनीतिक पण्डित (पुरोहितमात्र) ले बुझ्नै सकेनन्। मैले यसै दैनिकमा यस सम्बन्धमा पटक पटक लेखेँ– 'सबै राजनीतिक दलका नेताहरु एकै साथ गएर नेपालीहरुको दिल खोल्नुहोस् भारतसमक्ष। भन्नुहोस्– नेपाल भारतको मित्र हो, हामी तपाईँहरुको सधैँ हित चिताउँछौं।' नेपाली नेताहरुसँग नेतृत्वको क्षमता छ, त्यसैले उनीहरुले कठिन अवस्थामा पनि देश जोगाएका छन् तर उनीहरुसँग नेतृत्वको शैली र कला छैन। त्यसैले उनीहरु सिद्धान्ततः ठीक भए पनि व्यवहारमा असफल हुँदै आएका छन्।


मोदीले नेपालीको मन जिते। उनी राजनेता हुन। गुजरालपछाडि फेरि आज नेपालले भारतमा साथी भेट्टाएको महसुस गरिरहेको छ। लामो समयमा भारतीय कांग्रेसले गरेको गल्तीलाई मोदी सरकारले सच्चाएको छ तर नेपाली नेताले गरेको गल्ती कसले सच्याउँछ? मोदीले बुद्ध नेपालमा जन्मिएको बताए र नेपाललाई पटकपटक जिस्काउने कतिपय भारतीय सञ्चार माध्यमका मुखमा बुझो हालिदिए। मोदीले पहाड र तराईको सन्दर्भ उठाएर 'मधेस पहाडको उपनिवेश' हो भन्नेहरुको विदेशी उक्साहटलाई पनि राम्रोसँग जवाफ दिए। मोदीले संविधान सभालाई पहिले नेपालीमा सम्बोधन गरेर हरेक राष्ट्रको एउटा आधिकारिक राष्ट्रभाषा हुन्छ त्यसप्रति गौरव गर्नुपर्छ भन्ने संकेत पनि दिए र हिन्दी नेपालको आधिकारिक राष्ट्रभाषा हुनुपर्छ भन्नेप्रति व्यङ्ग्य पनि गरिदिए। अर्थात समग्रमा मोदीले नेपाली र नेपालीलाई चिने, हिमाल, पहाड र मधेसलाई होइन। नेपालको सार्वभौमिकताप्रति उनले कुनै सन्देह छाडेनन् र यस अर्थमा नेपालको दृष्टिकोणबाट हेर्दा मोदी भारतका ऐतिहासिक नेता कायम भए।
अब नेपाली समाजमा नेतृत्व निर्माणको युगले पदार्पण गरेको छ। नेपालको उत्तरमा 'विज्ञान र दैवत्व निरपेक्ष' दर्शन मान्ने यस युगको आर्थिक र वैज्ञानिक विकासको प्रतिनिधित्व गर्ने चीन छ। उसले छिमेकीहरुसँग विशेष सम्बन्ध र आर्थिक विकासमा साझेदारी गर्ने नीतिलाई वर्तमान नेतृत्वको सपना बनाएर अगाडि आएकोे छ। ऊ २०५० (इ.स) मा संसारको एक विकसित देश बन्ने योजना लिएर अगाडि आएको छ। अर्कातिर भारतमा परम्परावादी पारिवारिक नेतृत्व सकिएको छ र नेतृत्वका लागि क्षमता दाबीसहित एवं भारतको विकासको स्पष्ट ढाँचासहित जनताको मत पाएको व्यक्ति प्रधान मन्त्रीमा उदीयमान भएको अवस्था छ। अर्थात् भारतमा लोकतन्त्रको साँचो प्रयोगको सुरुवात हुने मौका पाएको छ। भारतको वर्तमान प्रधानमन्त्रीको अर्को विशेषता छ, त्यो हो– पूर्वीय सभ्यताको आफ्नै पहिचान छ भन्ने मान्यता। पश्चिमीकरणको तात्पर्य विकास होइन। विकास मानिसको जीवनको समुन्नति हो। अझ भारतका वर्तमान प्रधान मन्त्री कुलीन व्यक्तित्व होइन श्रमिक परिवारको मेहनति मानिस हो। त्यसैले भारतको विकास र औद्योगिकीकरणको फल मोफसलले पनि पाउने अवस्थाको सिर्जना भएको छ। 


एसिया अब फेरिँदैछ। चीन, भारत, दक्षिण पूर्वी एसिया र मध्यपूर्वको निरन्तर आर्थिक विकासको यात्राले अबको युगको विकासको केन्द्र एसिया हो भन्ने कुरा अब अनुमानमात्र होइन निकट भविष्यको यथार्थता हो। यसलाई मोदीले बुझेका रहेछन्। त्यसैले उनी 'दक्षिण एसिया' सहयात्राको बाटोमा हिँड्ने क्रममा नेपाल आएका थिए भन्न सकिन्छ। अब यसरी भारत बदलिएको हो भने नेपाल कसरी बदलिन्छ त? नेपाली राजनीतिक पार्टीले के सिके उनबाट? नेपालको हिमाल संसारको साहसिक पदयात्राको केन्द्र हो भन्ने नेपाली नेताले बुझेका थिए? एक अरब भारतीयलाई पशुपतिमा ल्याएर निहुराउन सकिन्छ भन्ने बुझेका थिए? संसारका बुद्धमार्गी ल्याएर कपिलवस्तुलाई मक्का र जेरुसलाम बनाउन सकिन्छ भनेर बुझेका थिए? जे होस्, मोदीले बुझाइदिए। शायद नेताले पनि बुझे।


एसियाका यी महान् अर्थतन्त्रका बीचमा किन नेपालको यो कन्तबिजोग? नेपालसँग स्रोत छ, बौद्धिकता पनि छ, कार्यकुशलता पनि छ,ि केवल एउटा चिज छैन, त्यो हो– नेतृत्वमा राजनीतिक संस्कार। त्यो राजनीतिक संस्कार नयाँ पुस्तामा झन् झन् बिलिन हुँदै गएको छ। सभ्यता र संस्कारले मानिसको प्रवृत्ति र सोच निर्माण गर्छ। मानिसको लगाइ, खुवाइ, सफाइ र चालचलनले संस्कारको झल्को दिन्छ। मोदीको बोलाइ, हँसाइ, जनतालाई आकर्षण गर्ने पाराबाट नेताहरुले सिक्नैपर्ने कुरा छन्। यसका लागि पहिलो कुरा हामीले आडम्बर त्यागेर महसुस गर्नुपर्छ– 'हामी सानो र विपन्न देश हौं। हामीसँग संसारका अन्य देशसँग चुनौती र संघर्ष गरेर अस्तित्व कायम गर्न सक्ने क्षमता छैन, त्यसैले हामीले उनीहरुसँग सहकार्य गर्नुपर्छ। सुरुङ खनेर भारतसँग लडाइँ गर्ने दिवासपनाको युग होइन यो। खुकुरीको गीत गाएर संसारलाई आकर्षण गर्ने युग पनि होइन। हिजो गोर्खालीले गरेका लडाइँको इतिहासको गीत गाएर समृद्ध हुने युग पनि होइन। अहिलेको युग बुद्धि, विज्ञान र प्रविधिको सम्पन्नताले समृद्धि प्राप्त गर्ने युग हो। 
नेपाली धर्तीको समृद्धिको युग सुरु भएको छ। भारत र नेपालबीचको चिसो समाप्त भएको छ। नेपालको बेहितमा दिल्लीमा कुरा पुर्या उने राजनीति अब अन्त्य भएको छ। अब भारतले बुझेको छ– नेपालभित्र 'पँधेरे' कुराकानीले अराजकता निर्माण गरेर भारतको हित हुँदैन। अब नेपालले आफ्नो यात्रा आरम्भ गर्नुपर्छ विकासका लागि। भारतमा चीन र चीनमा भारतको ठूलो लगानी प्रवेश भइसकेको छ। भारत र चीनको व्यापार मूर्धन्य छ। भारतको बिहार र उत्तरप्रदेशसँग चीनको व्यापार नेपालको बाटोबाट हुने अथाह सम्भावना छ। त्यसैले नेपाली नेताहरुले भारतसँगको घनिष्टताले चीनलाई चिसो पस्छ र चीनसँगको घनिष्टताले भारतलाई चिसो पस्छ भन्ने रुग्ण सोचाइबाट मुक्त हुनुपर्छ। नेपाली नेताले भारत र चीन पक्षधर होइन, नेपाल पक्षधर हुने प्रवृत्ति विकास गर्नुपर्छ। यस्तो प्रवृत्तिको विकासका लागि ज्ञान, सिप र कला चाहिन्छ। ज्ञान, सिप र कलाको विकासका लागि दक्ष एवं विज्ञहरुको सहयोगले काम गर्नुपर्छ। अर्थात राज्यको संस्थागत विकासको नेतृत्वको आचरण संस्थागत हुनुपर्छ। 


नेपाल र भारतबीच व्यापारको अपार सम्भावना छन् किनभने नेपथ्यमा नेपाल र भारतबीचको व्यापारमा चीनको संलग्नताको सम्भावना छ भने नेपाल–चीनबीचको व्यापारमा नेपथ्यमा भारत छ। नेपाल दुवै देशको साझा लगानीको केन्द्र बन्न जान्छ यसबाट। र, दुवै देशको संलग्नतामा नेपालको औद्योगिकीकरणको अभियान निर्माण गर्न सकिन्छ। कैलाश र मानसरोवरको तीर्थयात्राको व्यवस्थापन नेपालले चीनसँगको सहकार्यबाट गर्न सक्छ भने लुम्बिनी र गयाको तीर्थयात्रा गर्न चाहने भीमकाय चिनियाँ जनसंख्याको तीर्थयात्राको व्यवस्थापन पनि नेपालले भारतसँगको सहकार्यमा गर्न सक्छ। नेपाललाई अँध्यारो भविष्य नभएको देश देख्ने 'डिभी र ग्रीनकार्ड' का लागि भौतारिएका नेपाली युवा र देशको विकास र समृद्धिको अर्थ नबुझी आन्तरिक दलीय लडाइँ र सत्ताको होडमा रुमल्लिएको नेपाली नेताले यी सम्भावना देखेका छन्?


त्यसैले नेपाली राजनीतिको परिदृश्य परिवर्तन हुने महान् समय पदार्पण भएको छ। नेतृत्वले यो कुरा महसुस गर्नुपर्छ। सन् १९८० को दशकमा चीनमा जब नयाँ विकासको बाटो खोजी भइरहेको थियो, चिनिया कम्युनिष्ट पार्टीले 'नेताहरुको शासन गर्न सक्ने क्षमता निर्माणका लागि' राजनीतिक प्रणालीमा सुधार योजना अगाडि ल्यायो। नेताहरुले दक्ष हुनुपर्ने, ज्ञान र विज्ञान सिक्नुपर्ने र धरातलका यथार्थता बुझ्नुपर्ने आवश्यकता महसुस गर्योु। अहिले भारतमा मोदी त्यसै भन्दैछन्। उनी 'डिजिटल' प्रविधिको कुरा गरिरहेका छन् र भारतको नेतृत्व अब विकासको लक्ष्य प्राप्त गर्ने नेतृत्वमा रूपान्तरण हुनुपर्ने कुरा गर्दैछन्। नेपाली नेतृत्वले यसबाट आँखा खोल्न सक्नुपर्छ। त्यसैले सभ्य बन्नुहोस्, सुसंस्कृत बन्नुहोस्, आफैंले सबै जानेको भ्रम त्याग्नुहोस् र देशको आर्थिक समृद्धि र जनताको कल्याणका काममा लाग्न भारतीय र चिनियाँ राजनीतिक नेताबाट सिक्नुहोस्।