देश अखण्ड कि गाउँ ?

सभ्य मानिसहरू स्कुल खोल्छन्, यन्त्र कारखाना चलाउँछन्। असभ्य मानिसहरू यन्त्रको पूजा गर्छन् र कारखानामा हड्ताल गर्छन्। विवेकशील नागरिक आफ्नो देशको अखण्डताको कुरा गर्छन्। 

 

नेपालीसँग सायद विवेक धेरै भएर होला उनीहरू पञ्चायतकालमा जन्मिएका जिल्ला, अञ्चल र क्षेत्रको समेत अखण्डताको कुरा गर्छन्। त्यति मात्रै होइन, नेपालीहरू विदेशी बिचौलियाहरूको विश्वास गर्छन्। देशको सीमित स्रोतको प्रयोग गरी आफूलाई शिक्षित पारेकाहरू विदेश पलायन भएका छन् अनि त्यहाँ बसेर नेपालीलाई 'बुद्धिहीन' भनेर गाली गर्छन्। 

 

 

नेपालको वर्तमान समस्या नेपालीको कमजोर राष्ट्रिय मनोविज्ञानको समस्या हो। ऊ अहिले पनि एउटा सीमित भूभागमा सीमित स्रोत र साधनमा जीवनयापन गर्ने कबिलाजस्तै रहेछ, जसलाई राष्ट्र र राष्ट्रियताभन्दा आफ्नो ‘थाकथलोको महत्व बढी हुन्छ' जसलाई परिस्कृत समृद्ध जीवनभन्दा मरेपछिको चिहानको बढी चिन्ता हुन्छ।

 

यस्ता मानिस समृद्ध जीवनका आर्थिक, सामाजिक आधार तयार गर्ने तर्क होइन, आफूलाई अरूबाट पृथक् देखाउने प्रतिस्पर्धामा सरिक हुँदा रहेछन्। अहिले नेपालको अवस्था जर्जर देखिएको छ।तीनचार वर्षअगाडिको कुरा हो, नेपालमा जातीय राज्यको खेती गरिरहेका केही विदेशी संस्थाहरूले ‘मद्रास विश्वविद्यालयका एकजना प्राध्यापक नेपाल ल्याएछन्' होटेल मल्लमा उनले आख्यान दिए।

 

'मधेस एक प्रदेश’ को नारालाई बौद्धिक खुराक दिने हिसाबले आयोजना गरिएको थियो त्यो कार्यक्रम। त्यस कार्यक्रमको हर्ताकर्ता नेपालमा संविधान बनाउन खर्च गर्न एउटा अन्तर्राष्ट्रिय संस्थाले चलाएको प्रोजेक्टका एकजना हाकिम थिए । तर ती भारतीय प्राध्यापकको आख्यान आयोजकको उद्देश्य हुन गयो।

 

उनले भने, 'नेपालको चुरे पहाड कमजोर भूबनोट हो। यो वर्षेनी खस्किरहेको (सिल्टिङ) छ। अर्कोतिर नेपालको भारतसँग सिमाना जोडिएको ‘भूभाग’ खोलाहरूको निकास द्वार हो। जसले गर्दा नेपालको ठूलो हिस्सा सिमसार, दलदल वा डुबानको' समस्याबाट प्रभावित हुन्छ। 

 

सिल्टिङको प्रभाव र डुबानको समस्याबाट तराई प्रभावित। त्यसपछि उनले खोलालाई सिमाना बनाई गरिएको भारतको प्रान्तीय प्रणालीमा केही टिप्पणी गरे। उनले भने, 'भारतीयहरू प्रान्तको वा भाषिक समुदायको तहबाट उर्वर भारतीय बन्न सकेनन्। 

 

त्यसैले कुनै एउटा प्रान्तबाट बगेर समुद्रमा गइरहेको खेर गइरहेको पानी अर्को प्रदेशमा पुग्न कहिल्यै दिएनन्। भारतीय संविधानले स्थापित गरेको जल आयोगको बैठक आजसम्म बस्न सकेको छैन।'

 

उनका कुुरा वैज्ञानिक तथ्यमा आधारित थिए। त्यसपछि उनले भने जुन रूपमा तराईको उत्पादकत्वको लागि चाहिने उर्वर माटोको क्षय भइरहेको छ, जुन रूपमा तराई बिहार र उतरप्रदेशका भौतिक संरचनाका कारणले डुबानमा पर्दैछ र जुन रूपमा चुरे स्खलनवाट बालुवाकरण भइरहेको छ, त्यसलाई व्यवस्थापन गरिएन भने तराईको जीवन ५० वर्ष मात्र बाँकी रहनेछ। अर्थात् तराई उत्पादनहीन मरभूमि हुनेछ।'

 

यी यसो भन्ने मधेसी प्राध्यापक विद्वता र इमानदारीले भरिपूर्ण असल मानिस रहेछन्। त्यसैले जुन उद्देश्यले उनलाई नेपाल ल्याइएको थियो संविधान परियोजनाले त्यसले मधेसवादको उद्देश्यलाई सहयोग गरेन। त्यही दिन बेलुकी केशरमलको बगैंचामा डिनरको व्यवस्था थियो।

 

नेता उपेन्द्र यादव र पंक्तिकार सँगै बसेका थियौं, हाम्रा अगाडिपट्टि ती प्राध्यापक थिए । सन्दर्भ फेरि त्यही उठ्यो । उपेन्द्र यादवले प्रतिरक्षी बन्दै भने, ‘हामीलाई विज्ञहरूले यस्ता कुरा नै बताएनन्।'

 

यस्तै एउटा कार्यक्रम यूएनडीपीको संविधानसम्बन्धी प्रोजेक्ट चलाउने कार्यालयले विराटनगरमा गर्‍यो। त्यहाँ राष्ट्रपतिका सल्लाहकार सूर्य ढुंगेललगायत सुशील प्याकुरेल पनि हुनुहुन्थ्यो। म पनि आमन्त्रित थिएँ। जयप्रकाश गुप्ता पनि थिए। उनले धेरै क्रान्तिकारी भाषण गरे। 

 

त्यस दिन भने, ‘स्वायत मधेस प्रदेश बनेन भने मधेसमा नयाँ देश बन्नेछ। नेपालको झन्डा रहने छैन। अन्तर्राष्ट्रिय मान्यता त विस्तारै हुँदै जान्छ।' मलाई यस कुराप्रति चित्त बुझेन अनि मैले भनेँ-नेपाली हुनका लागि जस्तोसुकै आन्दोलन गर्न पाइन्छ। 

 

अझ हातहतियार पनि उठाउन पाइन्छ। तर नेपाली हुन्न भन्ने आन्दोलन गर्न पाइँदैन। त्यस्तो आन्दोलन राष्ट्रद्रोह हुन्छ। मेरो भनाइको तात्पर्य थियो- तराईबासीले आफ्नो अधिकारको लागि लड्न पाउने हक, समान नेपाली हुने हकका लागिको आन्दोलन हो। 

 

यस्तो आन्दोलनप्रति प्रत्येक न्यायप्रेमी जनताले साथ दिनुपर्छ। तर नेपालबाट पृथक् हुने आन्दोलन नेपालमाथि गरिने 'अन्याय' को उद्घोषण हो र त्यस्तो आवाजको कुनै तराईबासीले सर्मथन गर्न सक्दैन। 

 

पहाडी जिल्लाहरू तराईका पानीका स्रोत पनि हुन्, पहिरोका वा बाढीका स्रोत पनि हुन्। त्यसकारण दुवै कुराले तराईमा बन्ने प्रदेश उसको आर्थिक वा विकासको सामथ्र्यताका लागि पहाडसँग जोडिनुपर्ने बाध्यता छ। तर नेपाललाई अस्थिर बनाई नेपालीलाई विभाजित गर्ने कतिपय तत्वले हिजो निरपेक्ष 'मधेस'को कुरा उठाउन प्रेरित छ।

 

राजनीतिक वृत्तमा 'पहाडका जिल्ला' समेत जोडेर प्रदेशको निर्माण भएमा, मधेसमा रक्तपात हुन्छ भन्ने मनोविज्ञानको निर्माण गरियो। यो मनोविज्ञान मधेसकेन्द्रित 'भ्रष्ट नेता' हरूले गरे, जसका पछाडि खेल्नेहरू थुपै थिए। तर आज ‘मधेसमा प्रस्ताव गरिएको प्रान्तलाई स्रोतहीन प्रान्त बनाई मधेसी जनतालाई पीडित पार्न खेलिएको खेल भनिँदै छ। 

 

जुनसुकै तरिकाले संविधान बन्न नदिने खेलमा जानेर-नजानेर प्रत्येक नेपाली कुनै न कुनै रूपमा प्रयोग भइरहेको छ। केही राष्ट्रघाती मानिस 'भारतलाई' देखाएर आफ्नो स्वार्थसिद्ध गरिरहेका छन्। कथित ‘नागरिक समाजका नाममा हुर्किएका कतिपय कथित गैरसरकारी संस्था' विकासका नाममा नेपाली राष्ट्रिय अखण्डताविरुद्ध प्रयोग भइरहेका छन्।

 

‘संघीयता पनि चाहिने हिजोको प्रणाली वा व्यवस्था पनि भत्किन नहुने कस्तो मनोविज्ञान हो यो?' यस्ता संकीर्ण मनोविज्ञानले कुनै जिल्ला र क्षेत्रको अखण्डता त जोगाउँछ होला, राष्ट्रलाई भने घात गर्नेछ। संविधान बनाएन नेताले भनेर सत्तोसराप गर्ने हामी जनता नै थियौं हिजो।

 

आज नेताहरू संविधान बनाउन हतार गरिरहेछन्। उनीहरू राष्ट्रमाथि चलखेल गर्नेविरुद्ध उभिएका छन्। तर कथित नागरिक समाज र मेडिया भनिरहेको छ 'यो सत्ताको खेल हो।' निरपेक्ष नकारात्मकता भएको मानिस नै राष्ट्रियता र समाज परिवर्तनका सबैभन्दा ठूलो शत्रु हँदो रहेछ, अहिले त्यस्तै देखिएको छ।

 

धेरै पहिलादेखि उठाइएकै कुरा हो, ‘संघीयताको मिहिन सिमाना निर्धारण गर्ने कार्य विज्ञहरूको आयोगले गर्दछ।' सोह्रबुँदे सम्झौतामा यो वैज्ञानिक तर्क सारिएको थियो। सबैभन्दा पहिला त अदालतले जनताको प्रतिनिधित्व गर्ने भूमिका खेल्यो। तब राष्ट्रपतिले भने 'सीमांकनसहितको संविधान देऊ' आफ्ना सुझाव दिने सबैले सीमांकन गर भनी सुझाव दिए। जब सीमांकन गरियो, तब देश अशान्ति र आतंकमा छ। हिजो सीमांकनको कुरा उठाउने जबाफदेही कति हो?

विवेकशील बौद्धिकहरूले समस्याको समाधान खोज्ने बेला हो यो । जनताले चलखेल गर्नेलाई चिन्ने बेला हो यो । सञ्चारले चलखेल गर्नेलाई नंग्याउने बेला हो यो। हाम्रो कर्तव्य नेपाललाई जोगाउने हो, नेपालीत्वप्रति निष्ठा जगाउने हो । विवेकशील बनौं, तब मात्र नेपाली बन्न सकिन्छ ।

थारूहरूलाई र अखण्डवाला दुवैलाई कसरी दिन सक्छ संविधानसभाले कैलाली र कन्चनपुर? क्षेत्रीय आफ्नो संकीर्णतालाई राष्ट्रको हित र राष्ट्रियताभन्दा माथि राख्नुु कति व्यावहारिक हुन्छ? हामी नेपालभित्र शासकीय 'एकाइ' निर्माण गरिरहेका छौं वा हामी थुप्रैवटा नेपाल निर्माण गरिरहेका छौं? 

 

'कर्णाली’ कर्णालीका मानिसको मात्र, 'सुदूरपश्चिम' सुदूरपश्चिमका मानिसको मात्रै, 'कन्चनपुर' थारूको मात्रै ? गजब रहेछ हाम्रो 'राष्ट्रियता'। संसारका अगाडि हामीले लाहुरे भएर पहिला आफ्नो सान गुमायौँ। अहिले नेपाली भएर पलायनवादी बनेका 'डीभी' र 'पीआर' बनेर आफ्नो सान गुमाउँदै छौं। 

 

जग्गा र घर बेचेर अरबमा कमाउन जाने, देशमा केही नगर्ने अकर्मण्यवादी बनेर सान गुमाउँदै छौं । अब त नेपाली हुन छोडेर 'अखण्डवादी' का नाममा देशलाई अराजकतातर्फ पनि धकेल्दै छौं। के हो हाम्रा राष्ट्रिय मनोविज्ञान?

 

सीमांकनको काम आयोगले नै गर्ने कार्य हो। '६ वटा प्रान्त' बनाउने र प्रत्येकको 'पहिचान र सामथ्यता' सुनिश्चित गर्ने कार्यका लागि स्थलगत बहस र छलफल हुनैपर्छ। सुविधा र सहजताका कुरा जनताले राख्न पाउनैपर्छ। तर 'राष्ट्रलाई नै विभाजनको खाडलमा धकेली सीमांकन नेताहरूद्वारा गराउन चाहने' मानिसका पछाडि को-को कस्ता शक्तिहरू खेलिरहेका छन्। 

राष्ट्रपति संविधानको प्रमाणीकरण गर्ने राष्ट्रको प्रमुख व्यक्ति हुन्। दलहरू असफल भइसकेपछि उनको भूमिका सुरु हुन्छ। तर उनले भनिदिए, ‘सीमांकनसहितको संविधान दिनुहोस्।' सर्वोच्च अदालतले त्यति हतारो गर्नु हुने थियो वा थिएन ? केही आफूलाई राष्ट्रका महत्वपूर्ण मानिस हुँ भन्ने व्यक्तिहरूले खासगरी मधेसका नेताहरूले सीमांकनबिनाको संघीयता स्वीकार नगर्ने धम्की दिए। 

राष्ट्रमा रक्तपातको डर र त्रासको सिर्जना गर्ने काम गरे। तर जब सीमांकनको घोषणा भयो, देशलाई घेराबन्दी गर्ने काम भइरहेको छ । अब एउटा प्रश्न उठेको छ, के व्यक्तिगत स्वार्थ र क्षेत्रीय स्वार्थ राष्ट्रिय स्वार्थभन्दा माथि हुन्छ ? के नेपालको अस्तित्व हामीलाई आवश्यक छैन? अर्काथरी विदेशमा बसेकाहरू सामाजिक सञ्जालमार्फत निरन्तर नेताहरूलाई गाली गरिरहेका छन्। 

 

तपाईंलाई देशको माया छ भने देशमै बसेर लड्नुहोस्। विदेशमा बसेर अरूलाई आलोचना गर्ने कुुरा सभ्य संस्कृति होइन। संविधानसभाका सदस्यहरू आफैं क्षेत्रमा पुगेर हिंसात्मक आन्दोलनमा सरिक भइरहेका देखिन्छन्।

चार नेताले गरेको सम्झौताको प्रतिरक्षा गर्ने तपाईंको नैतिक दायित्व हो।तपाईं जिल्लाको सभासद् होइन, राष्ट्रको सभासद् हो। देश प्रहरी र सेनाको मात्र होइन, सभासद् र जनताको पनि हो। जिल्ला च्यापेर देशको घाँटी निमोठ्ने कुरा विवेकपूर्ण होइन।

स्थानीय तहमा लडेर 'अखण्डता नेतासँग माग्ने अधिकार छैन।' तपाईंलाई अखण्डता चाहिन्छ भने तपाईंले स्थानीय जनतालाई मनाउन सक्नुपर्छ। 'अखण्ड सुदूरपश्चिम' भन्नेले थारू समुदायसँग वार्ता गर्नुपर्ने हो र उनीहरूलाई मनाउनुपर्ने होला।

'थरुहट अलग चाहिन्छ भन्नेले अखण्ड भन्नेहरूलाई 'कन्भिन्स' गर्नुपर्ने होला।' प्रदेश नम्बर २ का मधेसका आठ जिल्ला स्रोतविहीन हुन्छन् भन्ने हो भने रामेछाप, मकवानपर र सिन्धुलीलाई मनाउनुपर्ने होला। हिजो मधेसमा पहाडको एक इन्च प्रवेश गर्नु हुँदैन भनेर भन्नुभयो। हिजोको गल्तीप्रति आत्मालोचना गर्नुपर्ने होला। नागरिकको कर्तव्य आन्दोलन गर्ने मात्र होइन, समस्याको समाधान गर्ने पनि हो।

सञ्चार जगत्ले देशलाई अखण्ड र स्वाधीन राख्न जनमत निर्माण गर्नु पर्ने होला। विद्रोहका आवाज बेचेर आफ्ना माध्यमको स्वार्थमात्र हेर्दा 'देश रहेन भने सञ्चारमाध्यम पनि रहँदैनन् होला। सबै गल्ती गर्ने तर आफ्नो गल्ती कोही नदेख्ने प्रवृत्तिले देशलाई कमजोर बनाउँछ भनेर बुझ्नु आवश्यक छ। ‘राजाको घाँटीमा बसेको झिँगामाथि तरबार प्रहार गर्ने बाँदरले राजाको हत्या गरेको' उखानको स्मरण गर्नु राम्रो होला।

संविधान निर्माणले देशको राजनीतिक अस्थायित्वलाई समाप्त पार्नेछ र नेपालको आर्थिक विकासको बाटो तयार हुनेछ। तर समृद्ध नेपाल नचाहने षड्यन्त्रकारीहरू धेरै छन्। नेपाल एउटा भूमिमात्र होइन। यो सनातन दर्शन, बौद्ध दर्शन र मुन्धुम दर्शनको समागमबाट बनेको हिमशृंखला संस्कृतिका पर्याय पनि हो। 

 हजारौं वर्षको मौलिक सनातन तथा बौद्ध दर्शनबाट बनेको विशाल भारतवर्षीय संस्कृतिलाई त भारतीयहरूले 'इन्डियन' दर्शन बनाइदिइहाले। नेपालको विग्रहले पूर्वीय दर्शनको मौलिकता पनि स्वतः मर्नेछ।

भारतमा १८३० को म्याकुलेको योजना र नेपालमा २०२८ सालको नयाँ शिक्षा योजनाले संस्कृतिलाई हतोत्साही पारिसकेको छ । अब नेपालमा बाँकी रहेको मौलिक संस्कृतिलाई संघीयताको लडाइँद्वारा समाप्त पार्ने योजना चलिरहेको छ। नेपालको पतनले सनातन संस्कृति मात्र होइन, बौद्ध र मुन्धुम संस्कृति पनि हतोत्साही हुनेछन्। समृद्ध नेपाल समृद्ध संस्कृति पनि हो। 

अतः ख्याल गर्नुहोस् बलिरहेको घरमा अरू मरेर तपाईं एक्लै बाँच्नु हुन्छ वा बाँच्नु हुँदैन। सीमांकनले समस्या ल्यायो भने ‘समाधान दिनुहोस्' आन्दोलन होइन। 'थरुहट र कर्णाली' लाई विशेष क्षेत्रका बनाउन सकिन्छ। 

'सिन्धुली र रामेछाप' का जनता र मधेसका जनता बसेर छलफल गर्न सम्भव छ। तर मधेस र थरुहटबाट ‘पहाडेलाई निकाल थरुहटमा सेना बनाऊ भन्नेहरूलाई मसिहा ठान्नुभएको छ भने गल्ती तपाईंहरूको हुनेछ। 

विवेकशील बौद्धिकहरूले समस्याको समाधान खोज्ने बेला हो यो। जनताले चलखेल गर्नेलाई चिन्ने बेला हो यो। सञ्चारले चलखेल गर्नेलाई नंग्याउने बेला हो यो। हाम्रो कर्तव्य नेपाललाई जोगाउने हो, नेपालीत्वप्रति निष्ठा जगाउने हो। विवेकशील बनौं, तब मात्र नेपाली बन्‍न सकिन्छ।