नयाँ नेतृत्व आवश्यक छ

२०४६ साल देखि २०५९ सालसम्मको नेपालको राजनीतिक इतिहास विश्वकै लागि अनुकरणीय रहेको थियो भन्न सकिन्छ । यस दावीको आधार राजनीतिक परिवर्तनका लागि आमजनताको सहभागिताको हो । २०४६ सालको राजनीतिक परिवर्तनको आधार त्यसपूर्वका अनवरत लोकतान्त्रिक आन्दोलनहरु हुन् । यस कालखण्डको राजनीतिक विश्लेषण गर्दा केही महत्वपूर्ण विशेषताहरू भेटिन्छन् । यो कालखण्ड ‘नेपाली राजनीतिमा युवा नेतृत्व विकासका दृष्टिकोणबाट स्वर्णयुग थियो’ । ओजिलो व्यक्तित्व, स्वभाव र वैचारिक इमान्दारीताका धनी मदन भण्डारी, तर्कपूर्ण विचारका धनी रामचन्द्र पौड्याल, क्रान्तिको आँट बोकेका प्रचण्ड यसै कालखण्डमा स्थापित भए । राजनीतिक सक्रियताका धनी माधव नेपाल, अध्ययन विश्लेषणका धनी झलनाथ खनाल, कार्यकर्तालाई आकर्षण गर्ने कौशलताका धनी खड्ग ओली, खँदिलो बौद्धिकताका धनी रामशरण महत, कुटनीतिक क्षमताका धनी कृष्ण प्रसाद सिटौला, शालीनताका धनी विमलेन्द्र निधि पनि यसै समयमा राजनीतिमा स्थापित भए । यसै समयमा अशोक राई, बाबुराम भट्टराई, प्रदिप नेपाल, केशव बडाल, अमृत बोहोरा, राजेन्द्र पाण्डे, मनमोहन भट्टराई, शेखर कोइराला, कृष्ण महरा, देव गुरुङ्ग लगायतका दर्जनौ युवा नेताहरू आशालाग्दा नेताका रूपमा देखा परे । त्यसैगरी सुरेन्द्र पाण्डे, प्रदिप ज्ञवाली, मिनेन्द्र रिजाल, घनश्याम भुषाल, चन्द्र भण्डारी, योगेश भट्टराई, रबीन्द्र अधिकारी, अरुण नेपाल, भानुभक्त ढकाल, गगन थापा, वर्षमान पुन, टोपबहादुर रायमाझी, खड्ग बहादुर विश्वकर्मा, गोकर्ण विष्ट, नेत्र बहादुर चन्द पनि उदयमान युवा नेताका रूपमा राजनीतिमा देखिए । यसै कालखण्डमा नेकपा एमालेका बामदेव गौतम, राप्रपाका कमल थापा, कांग्रेसका शेरबहादुर देउवा, माओवादीका राम बहादुर थापा विशेष आकर्षणका नेताका रूपमा देखा 
परे । यी सयौं नयाँ पुस्ताका नेताहरूलाई हेर्दा यस पहिलाका कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सहाना प्रधान, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, महेन्द्र नारायण निधि लगायतका पुरानो पुस्ताले सहज र कर्मठ उत्तराधिकारी प्राप्त गर्न सक्ने र देशले लोकतन्त्र र सुशासनको राम्रो व्यवस्थापन गर्न सक्ने छ भन्ने आशा नेपाली जनतामा थियो जसको तुषारापात भएको छ अहिले । 
किन यस्तो विचलन र विश्रृंखलता आयो नेपाली राजनीतिको आदर्शता, इमान्दारीता र प्रतिबद्धतामा । यो देशमा सरकारी ढुकुटीले चलेका विश्वाविद्यालयका राजनीतिशास्त्रीहरूले गर्ने विश्लेषण हो यो । ति विश्वविद्यालयहरूले गर्नुपर्ने अनुसन्धानको विषय हो । दुर्भाग्यवश विश्वविद्यालयहरुमा यस्ता गतिविधि गर्ने बजेट पनि छैन, सक्रियता पनि छैन शायद आवश्यकता महुसु पनि भएको छैन । देशको राजनीति अहिले पार्टी, गुट, सम्प्रदाय, लिङ्ग र भौगोलिक पहिचानका नाममा घात प्रतिघातको दुर्दशा व्यहोरिरहेको छ । विश्वविद्यालयहरु पनि स–साना नेपाल जस्तै छन् । त्यहाँ भ्रष्टाचार, अनियमितता, तोडफोड, निराशा, खुट्टातनाई, घात र प्रतिघातका खेल नै हुन्छन् । त्यसैले लामो संघर्ष, आन्दोलनबाट तायर पारिएको नेतृत्व लगभग पूर्ण रूपमा स्खलित हुँदा पनि देशका वौद्धिक ढुकुटी ठानिएका विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारीलाई यस बारेमा चासो भएको छैन । त्यहाँ त सम्बधन विक्री गर्ने, चिकित्साशास्त्र, इन्जिनियरिङ्ग, नर्सिङ्गका कोटाबाट रकम असूल गर्ने, अनुगमनको नाममा निजी क्षेत्रका कलेजबाट घुस असुल गर्ने, विद्यार्थीका उत्तरपुस्तिकामा उत्कृष्ट प्राप्ताङ्क दिएर रकम लिने जस्ता खेलहरू हुन्छन् शिक्षाका नाममा । जब कुनै देशको वौद्धिकतामा नै धमिरो लाग्छ, राजनीतिका आदर्श स्खलित हुँदै जानु र लोकतन्त्र बाँदरको खेल हुन जानु स्वभाविकै होला । त्यसैले भन्न सकिन्छ उर्जायुक्त युवा नेतृत्वलाई संरक्षण गर्न नसकेर नेपालको वौद्धिकताले सबै भन्दा ठूलो अपराध गरेको छ । विश्वविद्यालयका कथित प्राध्यापकहरू राजनीतिक दलका नेताहरूलाई पथभ्रष्ट बनाउन ठूलो हदसम्म जिम्मेवार छन् । नयाँ र उर्जासिल नेतृत्वको संरक्षण गर्ने अर्को महत्वपूर्ण भूमिका मिडियाको थियो । मेडियाको पनि नेपालमा विशष चरित्र देखाएको छ । यो अत्यन्त सत्ता लोभी छ । सत्तामा बस्नेलाई रिझाउन यो माहिर छ । यो सकारात्मक कुरालाई जगेर्ना गर्न नकरात्मक पक्षको टिकाटिप्पणी गर्दैन, बरु केही नकारात्मक पक्षमाथि असीमित प्रहार गर्दै सकारात्मक पक्षको अस्तित्वविहिन अवस्था सृजना गर्दछ । मेडियाले पनि युवा नेतृत्वको संरक्षण गर्न सकेन । सबै व्यवसायहरु नैतिकताको धरातलबाट स्खलित हुँदैछन् । 
परिवर्तन दुई किसिमका हुन्छन् ः– केवल खास ‘अवसरले प्रेरित भएको परिवर्तन’ वा ‘परिवर्तनका नियमहरूको विश्लेषण गर्दै आवश्यकता र चाहनाद्वारा निर्देशित योजनाबद्ध परिवर्तन’ । २०४६ सालको आन्दोलन नेपाली जनताले लोकतन्त्र एवं मुक्तिका लागि लडेको लामो संघर्ष, आवश्यकता र नेपाली जनताको चाहना अनुरूप भएको थियो । वास्तवमा यस्तो परिवर्तनको नेतृत्व गर्नेहरूलाई नै ‘नायक’ नेता भनिने हो, किनभने उनीहरूमा व्यक्तिगत स्वार्थ हुँदैन । नेपाली ‘युवा नेतृत्व यसैमा चुक्यो’ । यसले बाहिर आफूलाई ‘समाजसेवी, परिवर्तनकारी, संघर्षशिल, निस्वार्थी’ देखाउने प्रयास ग¥यो । तर भित्रभित्र यो लोभी भयो । उसले सम्पत्ति कमाएको थिएन, त्यसैले राज्यबाट संस्थागत रूपमा कानुनद्वारा आफ्नो बसोबास, गाँसबास, छोराछोरीको कल्याण, आफ्नो व्यक्तिगत आवश्यकता पुर्तिका कुराहरू सम्बोधन गर्नुपर्ने थियो । तर आन्दोलनका युगमा उसले आफूलाई ‘निस्वार्थ योगी’ बनाएर प्रस्तुत गरेको थियो । जब खुल्ला राजनीतिमा उ पदार्पण ग¥यो उसले बदलिएको परिस्थितिमा राज्यबाट सहयोग लिँदै जनताका लागि सेवकको भूमिकामा आफूलाई रूपान्तरण गर्न सकेन । बरु उ हिजोको आन्दोलनमा आफ्नो त्यागलाई ‘पुँजीकृत’ गर्न थाल्यो । उ राज्यबाट देखाएर होइन लुकेर सुविधा लिन उद्यत भयो । उ जनताको सेवक होइन मालिक बन्ने प्रयासमा लाग्यो । त्यसपछि उ एकपछि अर्को घटनाको नायक बन्न थाल्यो । सबैभन्दा पहिलो उसले ‘पजेरो’ संस्कृतिमा आफूलाई डुबायो । राज्यबाट पाजेरो लिएर व्यापरीलाई बेच्यो । त्यतिले मात्रै पुगेन व्यापारीलाई लाइसेन्स बेच्ने धन्दमा लाग्यो । पार्टीभित्र गुट बनाएर कुनै एक नेताको आशिर्वादमा ठेक्कापट्टामा भ्रष्टाचार गर्न थाल्यो । कर्मचारी नियुक्ति र बढुवामा दलाली गर्न थाल्यो । तिनीहरूका आँखामा उ अनैतिक बन्न थाल्यो । अर्थात कुनै त्यस्ता घटना भएनन् जसमा उसले नैतिकता नबेचेको होस् । जनताले उलाई चिने । उ जनताबट टाढियो ।
विदेशीहरूले गैर सरकारी संस्थाको उद्योग चलाए । तब नेताका परिवार यसमा लागे । विदेश यात्रा, रात्रीभोज, सभा र सेमिनार जीवनका अनिवार्य तत्व बन्न थाले । अनेक स्वार्थले नेपाल छिरेका यस्ता संस्थाहरूका प्रतिनिधि बन्न थाले नेताहरू । तब उनीहरू सरकारी कार्यालयमा गैर सरकारी संस्थाका संरक्षक र प्रतिनिधि बन्न पुगे । राष्ट्रका गोप्यता विदेशीका हातमा पुग्ने माध्ययम पनि बने यस्ता कतिपय नेता । पार्टीका निर्णयहरू विदेशीका इशाराबाट हुन थाले । नेतृत्वको ओज समाप्त भयो । राजनीति गर्ने कार्यकर्ताका नेता हुन छाडे उनीहरू । उनीहरू त कथित ‘विकासे र विदेशीका गफमा रम्न थाले’ । नेताहरूको यस प्रवृत्तिले उनीहरूका छबी पनि सकियो राम्रो काम गर्ने गैरसरकारी संस्था पनि सकिए । थुप्रै नेताहरु इमान्दार थिए । तर उनीहरु राजनीतिबाट पलायन भए । केही राजनीतिमा रहेपनि राजनेता बन्ने भोक लागेन उनीहरुलाई । उनीहरु पनि ओझेलमा परे । 
यहि कहिबाट नेपालका राजनीतिक दलहरूमा विदेशी घुसपैठ छिर्ने छिद्रहरू खुले । सदस्य कुनै पार्टीको, काम कुनै विदेशी संस्थाको । ‘टाइ लगाएर विदेशमा बस्ने नेपाली, विकासे कार्यकर्ता र विदेशी नागरिक सँगको उठवस नेताहरूको दिनचर्या बन्न पुग्यो’ । भोका र गरीव जनता उनीहरुको सरोकार भएनन् । तब नेपाली नेताहरू जनतामा होइन, खुल्ला चौतारीमा होइन, गाउँमा जनताका सभामा होइन, कोठाभित्र विदेशीसँग, होटलमा ककस र सरोकार समूहसँग जीवनयापन गर्न थाले । विदेशी जासुसहरूसँग भेटघाट गर्नु, विदेशीका नेपाली जासुससँग कुराकानी गर्नु, रियल स्टेट र मनीलण्डरिङ्गमा थुनिएकालाई छुटाउन प्रहरीलाई फोन गर्नु उनीहरुको जीवनचर्या बन्न थाल्यो । राजदूतहरूलाई भनेर छोराछोरी विदेश पठाउनु, छात्रवृत्ति प्राप्त गर्नु अर्को धन्दा बन्न थाल्यो । अनि जनताबाट अलगिनु बाहेक त के नै हुन्थ्यो र ? 
अहिले देशको राजनीति भताभुङ्ग अवस्थामा छ । दश वर्षे जनयुद्धका नेतालाई  दरबारमा बसेको आरोप छ । सरकारले लडाकूलाई दिएको भत्तामा भ्रष्टाचारको छानविन आयोग गठन भएको छ । प्रधानमन्त्री आर्थिक अनुशासनको कुरा गर्थे पहिला । अघिल्लो सरकारमा हुँदा वहाँले मितव्ययिताको नाममा कर्मचारीको स्वास्थ्य उपचारको भत्ता पनि कटौती गर्नुभयो । तर अहिले वहाँ राज्यका ठूला मानिसलाई करोडको गाडि, घर, सुविधा बाँड्दै हुनुहुन्छ । दिने नै हो भने राजनीतिक पार्टी र उसका भातृसंगठनलाई चन्दा उठाउन रोकेर ‘पार्टीलाई राज्यबाट पार्टी संचालन’ को बजेट दिए हुन्थ्यो । राजनीतिक पार्टीहरू राज्यका अंग हुन् उनीहरूले संचालन खर्च पाउनुपर्छ । तर सुविधाका नाममा सामन्तवादको संस्थापन गर्नु लोकतन्त्र होइन । यस्ता सुविधाका लोभी भएका कारणले पनि नेपालको नेतृत्व स्खलित भयो । इतिहासले उहाँहरूलाई सहि मुल्यांकन गर्ने छैन । 
के नेपाली नेताहरूलाई थाहा छ यो देशको सम्पूर्ण आम्दानीको ४७ प्रतिशत १० प्रति सभ्रान्त तपाईहरू जस्ता नेता, कर्मचारी, वकिल, डाक्टर, इन्जिनियर, सेना, प्रहरीले खाने गरेका छन् । २० प्रतिशत एकछाक मात्र खाने गरिबको त केवल ५ प्रतिशत आम्दानीमा पहुँच छ । करिव दश हजार महिला प्रतिवर्ष सुत्केरी हुन नसकेर मर्छन् । तपाईहरूले आधुनिक अस्पताल त सभ्रान्त कर्मचारीको लागि बनाइदिनु भएको छ । जुम्लामा अहिले पनि डायारियाले जनता मरिरहेका छन् । भूतपूर्व प्रधानमन्त्री, गृहमन्त्री, सभामुख, प्रधानन्यायाधीशहरू राज्यबाट आजीवन सुविधा फकाउँदै हुनुहुन्छ । राज्यको कोषबाट पढेका मानिस विदेशमा बसेर गैर आवासीय नेपाली बनेका छन् । हामी धनी देशलाई जनशक्ति उत्पादन गर्ने कारखान भएका छौं विचित्र नाम भएका स्कुलहरु खोलेर । नेताहरूलाई यी कुरा थाहा छैन । गाउँहरू रित्ता भइसकेका छन् । देशको युवा शक्ति हिजो बेलायतले युद्धमा समाप्त पा¥यो । आज अरबमा रगत जलाइरहेका छन् । धर्मका नाममा देशबाट अरबौ भारत जान्छ । अरबौंको कालो व्यापार छ । अरबौं शिक्षाका लागि विदेशिएको छ । देशको राष्ट्रिय स्वाभिमान मर्दैछ । के तपाईहरू अब पनि राजनीतिमा मालिक बनिरहने हो र ? शायद अब देशले नयाँ नेतृत्वको अभ्यास गर्ने समय आइसकेको छ । देशको स्वाभिमान शीरमा राखेर कि त नेतृत्व गर्नुहोस्, होइन भने निकास दिनुहोस । के भन्छन् युवाहरू, एकपटक कलेजहरूमा गएर सोध्नुहोस् । देशलाई नेतृत्वविहिन नबनाउनुहोस् । युगलाई चिन्ने नेतृत्व मात्र युगले पनि स्वीकार गर्दछ ।
हामी दुईटा धनी देशका विचमा छौं । भारतमा खुशीयालीमा ‘गाजरको हलुवा खान्छन् । चीनमा गाजर विनाको खाना नै हुँदैन । तर संसारको सबैभन्दा मिठो गाजर नेपालमा फल्छ’ । आदरणीय नेताहरु टर्रा भाषण र लडाईको खेल बन्द गरेर ‘जनतालाई गाजर रोप्न सिकाउनुहोस् गाउँ गाउँ गएर’ । तब तपाईहरु राजनेता बन्नु हुनेछ, जनताले पनि माया गर्ने छन् । नेपाललाई गाजरको बचैंचा र चीन र भारतलाई  गाजरको बजार बनाउ । अन्यथा देशहत्याको मुद्दा तपाईहरुलाई चल्नेछ ।