किन नेपालको राजनीतिले स्थिरता पाउन सकेन ? यो प्रश्न खोतल्ने जमर्को थु्रपैले गर्न थालेका छन् अहिले । मेरो विचारमा राजनीति स्थिरता त हुनु पनि हुँदैन । राजनीतिक प्रक्रिया त परिवर्तनशील प्रक्रिया हो त्यसैले यो गतिमान हुनुपर्छ स्थिर होइन । समस्या राजनीतिमा थुप्रै छन्, जो स्थिरतासँग होइन प्रगतिशील हुन नसक्नु, नैतिक हुन नसक्नु, जनपक्षीय हुन नसक्नु, र पारदर्शी एवं जवाफदेहीयुक्त हुन नसक्नु सँग सम्बन्धित रहेका छन् । अतः निकास राजनीतिक नैतिकताको प्रवर्धनसँग गाँसिएको छ ।
राजनीति समाजलाई परिवर्तनको बाटो प्रदान गर्ने प्रक्रिया हो र माध्याम पनि हो । त्यसैले राजनीति विज्ञान र तर्कबाट पृथक हुन सक्तैन÷हुँदैन । राजनीति विज्ञान र तर्कद्वारा निर्देशित हुने भएबाटै, यो सिद्धान्तविहिन, कानुन विहिन र तर्कविहिन हुन सक्तैन । सिद्धान्तविहिन, कानुनविहिन एवं तर्कविहिन ‘राजनीति त राजनीति नै होइन’ । यसलाई त ‘अवसरवाद’ (अपरचुनिटिज्म) भनिन्छ । अवसरवाद अनैतिक हुन्छ र वेइमानीको जगमा खडा भएको हुन्छ । अनैतिकता र बेइमानीको धरातलमा उभिएको कथित राजनीतिले ‘क्षमतातन्त्र’ (मेरिटोक्रेसी) लाई बर्खास्त गर्दछ र ‘चाप्लुसीतन्त्र’ (हाइपोक्रेसी) लाई मलजल गर्दछ । नेपालको समस्या चैं यो हो । नेपालको कथित राजनीति ‘मादरीले जामा लगाएर नाँच्न निकालेकी बाँदर्नी’ जस्तै हो । जामा वा लुगा लगाएकै कारणले बादर्नीलाई सभ्य वा बौद्धिक प्राणी भन्न नसकिए जस्तै बहुदलीय व्यवस्था, न्यायिक स्वतन्त्रता र जनउत्तरदायी सरकारको नाम दिँदैमा कुनै व्यवस्था लोकतान्त्रिक र कुनै राजनीति आदर्श राजनीति हुँदैन भन्ने हेक्का राख्नुपर्छ । जसरी मदारीको खेल ‘सत्य’ होइन त्यसैगरी ‘कथित राजनीति पनि यथार्थमा राजनीति होइन’ ।
राजनीतिक सिद्धान्त पनि समाज विश्लेषण र व्याख्यासम्बन्धीे खास विचारधारासँग सम्बन्धित रहन्छन् । अर्थात कुनै पनि राजनीतिक दलले ग्रहण गरेका सिद्धान्तहरु खास किसिमका आर्थिक, सामाजिक, सांस्कृतिक, एवं मनोवैज्ञानिक दार्शनिक विचारधारासँग सम्बन्धित रहन्छन् । जब राजनीति विचारधारा विहित हुन्छ, राजनीतिक दलहरुले आत्मसात गरेका सिद्धान्तहरु अवसरवादका गोटी बन्दछन् ।
‘अवसरवाद’ सत्तालिप्साको मनोकुण्ठा वा अति महत्वकांक्षाबाट जन्मिन्छ । त्यस अर्थमा अवसरवादलाई राजनीतिको मनोरोग पनि भन्न सकिन्छ । जसरी दिमागको रोग लागेको वा बहुलाएको मानिसलाई अपरिहार्य मानवीय मुल्यहरु र नैतिकताको ख्याल हुँदैन, वा मानिसले गर्न हुने र गर्न नहुने भनी तोकेको सीमाको जानकारी हुँदैन, त्यसरी नै अवसरवादको दलदलमा डुबेको राजनीतिमा क्रियाशील नेता वा कार्यकताले नैतिकता र अनैतिकता, कानुन र अपराध, एवं आदर्श व्यवहार र आचरणहीनताका विचमा भिन्नता देख्न सक्तैन । अन्तोत्वगोत्वा राजनीति पूर्ण अराजक, अविश्वासनीय एवं अनैतिक खेलमा परिणत हुन्छ ।
नेपालको राजनीतिको अवस्था दिन प्रतिदिन जर्जर र अनैतिक बन्दै गइरहेको छ । कथित राजनीति गर्ने ‘राजपा’ नामको पार्टीका केही नेताका अभिव्यक्ति र हरकतबाट हेरौं । केही दिन पहिला यसका एक नेताले भनेछन् ‘हाम्रा माग पुरा भएनन् भने हामी विदेशीसँग सहकार्य गर्छौ’ । जनकुपरमा नेपाली कांग्रेसको झण्डा जलाइयो । राजविराजमा एमालेको कार्यक्रम स्थलमा प्रवेश गरी झण्डा च्यातियो र कुर्सीहरु तोडफोड गरियो । संघीय समाजवादी फोरामको कार्यक्रममा आक्रमण गर्ने प्रयास भयो । केही समय पहिला एमालेलाई तराई पस्न निषेध गरियो । उसको कार्यक्रममा आक्रमण गरियो र अन्ततः केही निर्दोष नागरिकको सुरक्षााकर्मीको गोलीबाट मृत्यु भयो । यो श्रृंखला नाकाबन्दी हुँदै गौर घटनासम्म पुग्छ । राजनीतिका नाममा गरिएका यी घटनाहरुमा कहाँ छ लोकतन्त्रको आभाष ? कहाँ छ नैतिकताको धरातल ? कहाँ छ सदाचारको मूल्य ? वास्तवमा यी घटनाबाट देख्न सकिन्छ कथित राजनीति अवसरवादको रुपमा आपराधिक गतिविधिको श्रृंखला बनी सकेको छ ।
भारतमा केही समय पहिला ‘एसोसिएसन आफ डेमोक्र्याटिक रिफर्म’ नामको थिंक टैंकले गरेको अनुसन्धानले २०१४ को लोकसभाको निर्वाचन सम्म आइपुग्दा देखियो कि भारतको राजनीतिको लगभग तीन अंश मध्ये एक अंश अपराधिकरण भइसकेको छ । भारतीय जनता पार्टीका सदस्यहरु मध्ये ३८ प्रतिशत, कांग्रेसका २१ प्रतिशत, वामपन्थी दलका २९ प्रतिशत, भारतीय जनतादलका ६८ प्रतिशत र झारखण्ड मुक्ति मोर्चाका १०० प्रतिशत सदस्यहरु एकभन्दा बढी संघीन अपराधमा मुसिएका छन् । यसको कारण सत्ता र त्यसबाट भ्रष्टाचार गर्ने अभिष्ट प्रमुख रहेको छ । र, यस्ता अपराधीलाई राजनीतिमा स्थान दिने प्रवृत्तिको जन्म सत्ताप्राप्त गर्ने विचारधार विहिन अराजकताबाट भएको छ जसलाई अवसरवाद भनिन्छ ।
इतिहास स्पष्ट छ । जुन ठाउँमा रा.ज.पा. र अन्य केही मानिसहरुद्वारा भएका हत्या, हिंसा र विखण्डनलाई हेर्ने हो भने लाजलाग्दो अवस्था छ । जनकपुर सभ्यताको जननी हो । जनकपुर हिजो इतिहासमा आयोध्यालाई सभ्यता सिकाउने ज्ञानभूमी हो । तर यो अहिले हिंसा हुर्काउने कर्मक्षेत्र बनेको छ । जनकपुरको महिमा निरन्तर घटिरहेको छ ।
प्रसिद्ध दार्शनिक साहित्यकार लियो टोल्सटोयले ‘युद्ध र शान्तिमा’ भनेका छन्, ‘युद्धले शान्ति कहिल्यै ल्याउँदैन र अनैतिकताले आचारण कहिल्यै सिकाउँदैन ।’ चाणक्यले भनेका छन् ‘जब राजनीति भ्रष्ट हुन्छ जनताको जीवन तहस नहस हुन्छ’ । समकालीन स्लोभेनियन दार्शनिक जीजेक भन्छन् ‘जब दिमागमा एउटा आग्रह वा पुर्वाग्रहपूर्ण पट्टीको निर्माण हुन्छ, आँखाले जे देख्नुपर्ने हो त्यो देख्दै देख्दैन्’ । जस्तै हामी अमेरिकालाई लोकतन्त्र देख्छौं, तर त्यो संसारको सबैभन्दा आततायी छ । हाम्रा मानिस अमेरिका जानुलाई ‘ट्यालेन्ट’ को कदर हो भन्छन् र उनीहरुलाई वैधानिक दास भर्ती गरेको देख्दै देख्दैनन् । उनीहरु आधुनिकताका नाममा उपभोक्तावाद बाट प्रभावित भएका छन् । यसरी अमेरिकी साम्राज्यवाद देखि व्यक्तिका उपभोक्तावादी विलास सम्म अवसरवादबाट प्रभावित रहेका छन् ।
फेरी नेपालतिरै फर्कौ । २०६३ सालमा माओवादीहरु १२ बुँदे सम्झौता हुँदै संविधान सभामा प्रवशे गरे । त्यसताका सार्वजनिक रुपमा प्रकट हुँदै प्रचण्डले भनेका थिए ‘म, बाबुराम र बादल’ सत्तामा जाँदैनौं । तर प्रचण्ड दुईपटक प्रधानमन्त्री भए । पछिल्लो पटक नेपाली कांग्रेससँग चुनावी तालमेलमात्र गरेनन्, आफूले नियुक्त गरेको महान्यायाधिवक्तालाई कांग्रेस प्रधानमन्त्रीको महान्यायाधिवक्ता बनाउन समेत सफल भए । २०६३ को गौर घटनामा आफ्नै दर्जनौ कार्यकर्ता हत्या गर्ने राजनीति शक्तिसँग मोर्चा बनाई विगतमा कांग्रेसलाई ‘प्रमुख शक्ति’ र यथास्थितिवादी शक्तिको रुपमा परिभाषित पनि गरे । र, जतिबेला एमालेसँग तालमेल तोडे संसदमा बोल्दै प्रचण्डले भने ‘राजनीति भनेको रणनीतिक खेल हो’ । अवसरवाद यहाँ राजनीतिक सिद्धान्तको पूर्ण पतनको रुपमा देखा पर्छ । जीजेकको भनाई सापटी लिने हो भने ‘माओवादी केन्द्र’ बारिह कम्युनिष्ट देखिए पनि भित्र विकृत उपभोक्तावादी पुँजीवादी देखिन्छ’ । अवसरवादको यो अनुपम उदाहरण हो ।
यता यथास्थितिवादको आरोप लागेको कांग्रेसलाई हेरौं । उसको सिद्धान्त प्रजातान्त्रिक समाजवाद हो । यो सिद्धान्त वि.पी. ले लोहिया र जयप्रशासको शिक्षाबाट विकसित गरेको सिद्धान्त हो जसले वि.पी. प्रति नेहरुको वक्र दृष्टि निर्माण गर्यो र नेहरुले वि.पी. लाई असफल पार्न सकेजति गरे । तर वि.पी.
पदबाट विस्थापित भएपनि सिद्धान्तबाट च्यूत भएनन् । तर त्यही कांग्रेसले २०४८ सालपछि प्रजातान्त्रिक समाजवादका अनुयायीहरु गणेशमान, के.पी. भट्टराई, सि.के. प्रसाई, भरतबाबु प्रसाई, रामहरि जोशी, ढुण्डीराज शास्त्री लगायतका सबैलाई सिध्यायो र नव–उदारवादको ताण्डब खेल्यो । यो सत्ताकै लागि अवलम्बन गरिएको अवसरवाद थियो । अहिले यो अवसरवाद माओवादी क्रान्तिको अवसरवादी राजनीतिसँग दामपत्य जीवन यापन गर्दैछ ।
नेकपा (एमाले) ले २०४८ सालमा परिवर्तित सन्दर्भमा आवश्यक लोकतान्त्रिक प्रतिस्पर्धाको सिद्धान्त र समाजवादलाई जोड्ने ‘बहुदलीय’ जनवादको सिद्धान्त ल्यायो । उसको पहिलो सरकार नौ महिनामै अत्यन्त लोकप्रिय बन्यो । तर कांग्रेस भित्र विकसित अवसरवादले पूर्वपञ्चहरुसँगको अवसरवादी तालमेलबाट ‘एमालेलाई विस्थापित ग¥यो सरकारवाट’ । यसलाई सहज स्वीकार गरेर लोकतान्त्रिक प्रतिपक्षमा अडिग एमाले पनि रहेन । उसले कांग्रेसको अवसरवादी हरकतलाई पूर्व पन्चकै अर्को समूह समातेर जवाफ दियो । त्यो पनि अवसरवादी खेल नै थियो । पहिलो संविधानसभा ताका आफ्नो पराजयका बाबजुद यसले जातीय संघीयता विरोधी मान्यता, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सबल स्थानीय तह जस्ता महत्वपूर्ण अवधारणाहरु ल्यायो । तर सबै अडानहरु छोड्यो । यस्तो अवस्था पनि आयो जसले एमालेलाई अडानरहित पार्टीको संज्ञा पनि प्राप्त भयो । दोस्रो संविधान सभाको अवधिमा यसलाई सुधार गर्दै कठोर अडानद्वारा सविधान घोषणा गर्ने महत्वपूर्ण भूमिकामा उसको योगदान अब्बल रह्यो । तर अवसरवादी चरित्रका अन्तर्राष्ट्रिय गैर सरकारी संस्था वा अन्तर्राष्ट्रिय संस्थाका ठूला ठूला योगदानबाट संचालित अवसरवादी व्यक्तिहरुबाट एमाले मुक्त रहेन । सबै असल कार्यकर्तालाई समेट्ने मान्यतामा उ संकीर्ण रह्यो । त्यसैले राप्रपा जस्तो हिन्दूत्वको एवं राजतन्त्रको वकालत गरिरहेको शक्तिसँग तालमेल गर्न पुग्यो । उसको राष्ट्रियताप्रतिको अडानलाई खोक्रो राष्ट्रवाद भन्नेहरु थिए, र उसलाई एक्लो पारेर हिर्काउने वर्तमान अवसरवाद उसका लागि चुनौती थियो, त्यो सत्य हो । तर एमालेले माओले भने झै ‘तथ्यबाटै सत्य’ को खोजी गर्नुपर्ने थियो । त्यसो नगर्दा उसले काठडमाडौंमा उपमेयर र ललितपुरमा मेयर गुमायो ।
यता राप्रपाको अवसरवादी चरित्रको त कुरै नगरौ । हिन्दूत्व र राजतन्त्रको वकालत गर्ने उ गणतन्त्र र धर्मनिरपेक्षताको वकालत गर्ने माओवादीको नेतृत्वको सरकारमा संलग्न हुँदै संविधान संशोधनको प्रस्तावको समर्थनमा उभियो ।
अवसरवाद अराजकताको जननी हुन्छ र अराजकता विदेशी चलखेलको जननी । नेपाली जनता देशभक्ति, राष्ट्रिय एकता र आर्थिक समृद्धिको पक्षमा उभिएका छन् । तर विदेशी चलखेलबाट ग्रस्त नेपाली अवसरवादी राजनीतिले जनतालाई आर्थिक समृद्धि र जनकल्याणकारी सेवा प्रदान गनुृ भन्दा, सत्ताको प्राप्ति र देशभक्तिको भावनाको तेजोबोध गरिरहेको छ । आम जनता स्थानीय तहको निर्वाचनबाट स्थानीय नेतृत्व निर्माण गर्न उद्दत रहेका छन् । उनीहरुले के बुझेका छन् भने स्थानीय तहको निर्वाचनले उनीहरुलाई संगठित बनाउने छ र उनीहरुलाई विदेशी हस्तक्षेपका विरुद्ध एकताबद्ध भई राष्ट्रको प्रतिरक्षा गर्न सजिलो पार्ने छ । तर जनताको यस भावनाको विरुद्ध विदेशीहरुले चरण–चरणमा निर्वाचन गर्ने पटक पटक निर्वाचनको मिति फेर्ने, राजपासँग सम्झौताका वार्ता गरिरहने जस्ता मतिहरु दोहो¥याई रहेका छन् । लाग्छ, देशमा राष्ट्रद्रोह नामको कुनै अपराध छैन । भारतमा नागरिकता प्राप्त गर्न भारतीय नागरिकसँग विवाह गर्ने महिलाले सात वर्ष कुर्नुपर्छ, भारतमा प्रशासनिक सुगमता प्रान्त निर्माण गर्ने प्रमुख आधार हो, भारतमा समानुपातिक निर्वाचन प्रणाली छैन, भारतमा महिला, दलित र जनजातीका लागि व्यवस्था छैन, भारतमा स्थानीय तहमा प्रशासनिक एवं विकास बजेटको प्रक्षेपण पनि छैन । अनि किन वर्तमान गठबन्धनको सरकार यी तर्क दिएर भारतसँग छलफल गर्न र नेपालको संविधान प्रगतिशील संविधान हो भनी दावी गर्न सक्तैन ? अनि नेपाली नेता भारतीय राजदुतावासमा बैठक बस्न जाँदा आपत्ति सम्म गर्दैन ।
अहिले तत्काल दार्जीलिङ्गमा व्यापक दमन भइरहेको छ । नेपाली भाषा भारतको संविधान अनुसूचीमा दर्ता भएको भाषा हो । तर पश्चिम बंगालको प्रान्तीय सरकार दार्जीलिङ्गमा बंगाली भाषा लादिरहेको छ । सामान्य, अहिंसात्मक आन्दोलनमा सैनिक प्रयोग गरिरहेको छ । तर नेपालमा निर्वाचनमा भाग लिने पार्टीहरुका विरुद्ध हिंसा गर्ने माथि समेत कुनै कारवाही गर्दैन सरकार ।
अवसरवाद डरलाग्दो हुन्छ । अवसरवादले देशभक्ति, सिर्जनात्मकता, र समृद्धिका विकास योजनाहरुलाई तहस नहस पार्छ । जुन देशका नागरिक केवल निरासा व्यक्ति नगरी, पलायनवादी नबनी यस्ता समस्याको सामना गर्छन, त्यो देश र समाज फेरी सहि बाटोमा आउँछ । चाणक्य भन्छन् ‘लामो समय सम्म मानिसलाई मूर्ख बनाउन सकिँदैन’ । अवसरवाद ‘धुँवाको पर्दा हो हटाउन सकिन्छ । तर धुँवाको स्रोत अनैतिकताको आगो निभाउने जाँगर हुनुपर्छ । नेपालमा अब अवसरवादी राजनीतिको अवसान हुनुपर्छ ।